म पत्रकार, रुढीवादी परम्परा पटक्कै मन पराउँदिन । मेरो आदर्शले सामाजिक व्यवहारमा बाँधिन समय लाग्यो । बिहे पनि उमेर ढल्केपछि भयो । बिहे गरेको वर्ष दिन नपुग्दै श्रीमती कहिले टाउको दुख्यो त कहिले कम्मर दुख्यो भन्न थालिन् । कहिलेकाहीँ पिठिउँको र पेटको पनि चुक्ली लगाउँथिन् । सिकिस्तै नभए पनि स्वस्थ भने कहिल्यै नहुने ! नाम चाहिँ गोरी, छालाको रङले जुराएको । अनुहार भने जहिल्यै अँधेरो बनाइराख्ने । अस्पताल लिएर गएँ । डाक्टरहरूले सोध्दा कहिलेकाहीँ घुँडा पनि दुख्छन् भन्न पछि परिनन् ।

गोरी नेताकी छोरी ! ठूला कुरा सुन्दासुन्दा ठूलै बात मार्ने बानी बसिसकेको रहेछ । अबका डाक्टरहरूलाई धामी जैसीको जस्तो मान्छेको मानसिकता बुझनसक्ने तालिम पनि दिइँदो रहेछ क्यारे ! मेरी गोरीलाई फुर्क्याउँदै चेक गराउँदै गरेर शिरदेखि पाऊसम्म पुर्याए, बिल उठ्यो पाँच हजारको ।

त्यो देखेर मेरो पारो चढ्यो । “तीन हजारमा होल बडी चेक हुन्छ, तपाईंहरूले के गरेर पाँच हजारको बिल बनाउनु भयो ?”

“पैसाको कुरा गर्ने हो भने त अस्पतालको क्यालिटीमा भरपर्छ भाइ ? कुन रोग हो र कता लुकेको छ ? पत्ता लगाउने क्रममा तपाईंकी श्रीमतीको पूरै शरीर चेकगरी सक्यौँ ।”

शरीरका प्रत्येक अङ्ग चेक गरे पनि कुन रोगलाई दोषी ठान्ने त भन्ने कुरामा निकै रुमलिए डाक्टर । अन्ततः सम्भावनाको आधारमा थुप्रै औषधी लेखिदिए ।

औषधी खाने र डाक्टरलाई भेटेर सल्लाह लिने क्रम बढ्दै गयो । डाक्टरले पनि नयाँनयाँ आश्वासन र औषधी दिँदै राखे । सात–आठ महिना बित्यो, तर कुनै पनि औषधीले रोगसँग तालमेल खाएन । त्यसपछि अर्को अस्पताल गइयो । नयाँ ठाउँका डाक्टरहरूले पहिलेका प्रेसक्रिप्सन हेरेर नयाँ तरिका अपनाए । सात–आठ महिनासम्म त्यहाँ पनि एक्स्पेरिमेन्ट भयो । उपलब्धी शून्य ! डाक्टरहरूले जीउ दुःखाइको कारण पनि ठोकुवा गर्न सकेनन् ।

गोरीका काम दिनभरि टिभी हेर्यो, अस्पतालको र औषधीको नाम टिप्यो, साँझ मलाई पुलपुल्यायो, पैसा फुत्क्यायो, औषधी किन्यो ल्यायो । अलिकति खायो ठिक होलाजस्तो लागेन, औषधी बदल्यो । घरका कुनाकाप्चाहरू औषधी र औषधीका सीसिले भरिन थाले । गोरीको ऐआ र आत्था छुटेन । अन्ततः उनलाई माइत पठाइदिएँ ।

माइतीमा बसेपछि केही बिसेक भएछ । उनी राजीखुसी देखिन थालिन् । अनि त म ससुराली जाने श्रीमतीसँगको भलाखुसारी उतै सल्टाउने गर्न थालेँ । मेरो ससुरालीमा टुपुल्किने काम बढ्दै गइरहेको थियो, फेरि गोरीको अनुहार अँधेरिन र आत्था सुरु हुन थाल्यो ।

“फेरि के भयो ? मेरा माइतीमा आएदेखि हल्का हुँदै आएको छ भनेकी हैनौ ? तिमीलाई त आफ्नै घरमाथि शङ्का लागेको थियो हगि ?” मैले आँखा तरेँ ।

“तपाईंसँग भेटघाट भएपछि बिसन्चो हुन्छ के !” उनले मुन्टो बटारिन् ।

गोरीको मानसिकताले जिल्ल परेँ म । ‘चक्कर के हो यिनको, कसैले गाइट गरिरहेको त छैन !’ मनमा शङका उपशङ्का उठेकाले गोरीसँग केही दिन सम्पर्क बिहीन् भएर बस्ने निधो गरेँ र ससुरालीबाट हिँडेँ ।

------

सातौँ दिनको बिहानीपख गोरीको फोन आयो । “अब त म बिल्कुलै ठिक भइसकेँ !” मोबाइलबाटै साउती मार्दै थिइन्, “आत्था...!” गरिन् ।

“रोगले चाल पायो कि के हो ?” मैले भनेँ ।

“खै के खै के ? ढाडमा सिर्का हान्यो !” उनले पीडायुक्त स्वरमा भनिन्, “म फेरि फोन गर्छु ल ।” लाइन कट्यो ।

कस्तो विचित्र ! फेरि फोन गरिन् भने मेरो मुटुको घाउमा मलम लगाउँदै नून हाल्दै नगर न, भन्नु पर्ने हो कि ! हुन त उनी मेरो कुरा कहाँ सुन्छिन् र ‘तपाईंलाई सम्झे पनि मेरो जीउमा घोच्न र पोल्न थाल्छ के’ भन्ने पो हुन् कि ! अहो..., मेरो भविष्यवाणी मिल्यो भने के गर्ने ? आफ्नै मन पनि डराउन तर्साउन थाल्यो मलाई ।

अर्धाङ्गिनीदेखि छुटकारा पाए पो मन अरू काममा लाग्छ । मनमा अनेक प्रकारका कुरा खेलिरहेका थिए । गोरीले फेरि फोन गर्छु भनेकी थिइन्, किन गरिनन्... ! सम्झेको मात्रै के थिएँ, साइतै जुरेजस्तो गरेर खल्तीमा मोबाइल बज्यो । कसको फोन आयो ? मोबाइल निकालेर हेरेँ । गोरीकै रहेछ । रिसिब पटन थिचेँ र हलोहलोहलो... भन्दै कानमा टासेँ ।

“तपाईं छिटै आउनुस् त ? मेरो आङ्मा घोच्ने पोल्ने के रहेछ पत्ता लाग्यो ।” लाइन काटियो ।

जेहोस्, राम्रै भयो । मलाई पनि आउनु भनिन् । खुस खबर सुन्नलाई किन ढिलो गर्नु । मेरो मोटर साइकल हावाकै गतिमा घुइकियो ।

गोरी आएर मोटरसाइकल पार्किङ गर्ने ठाउँमै उभिएकी थिइन् । उनले हतारहतार घाटीको जन्तर देखाउँदै भनिन्, “आज आमाले मलाई झारफुक गर्ने ठाउँमा लिनुभयो के । त्यही झारफुक गर्नेले लगाइदिएको त हो नि, अब ठिक हुन्छ रे !”

“तिमीलाई के भएको रहेछ, भनेन त्यस झारफुक गर्नेले ?”

“तकडा रहेछ नि त्यो मान्छे, मलाई नै बकायो !” गोरीले खुसुक्क भनिन् ।

“भन्नाले ?” उनको कुरा घुमाउने बानीले आज पनि दिक्कै भएँ म ।

“उसले अक्षता मन्तेर मेरो जीउमा के फालेथ्यो थर्थरी काम्दै मैले भनेँ– भाउजू सुमाया हुँ ! सम्पत्तिका लागि यसबाट बच्चा नै जन्मिन दिएकी छैन । यसका लोग्ने स्वास्नीलाई त मारेरै छोड्छु... ।”

“तिमीले बोक्सी भन्न खोजेकी ! वाइहाद कुरो ।” मलाई हाँसो उठ्यो । मोबाइल निकालेँ र साथीलाई डायल गरेँ । मेरा कुरा सुनेपछि साथी पनि हाँस्छ भन्ने लागेको थियो, तर हाँसेन ऊ । उसले भन्यो, “नयाँबस्तीमा एउटा धामी छ निकै जान्ने, त्यसैकहाँ लिएर जाऊ ?”

“तपाईं पनि .... !” मलाई साथीका कुरा पत्याउनै गाह्रो भयो ।

“शारीरिक रोग हो वा मानसिक, ठिक गर्नु त छ नि ?”

म नाजवाफ भएँ ।

मैले साथीसँग मोबाइल नम्बर मागेँ र धामीलाई फोन लगाएँ । आफ्नो वजन बढाउनलाई हो वा मेरो बर्कत जान्नलाई हो बिस्तारै कुरा गर्थ्यो ऊ । अन्ततः अप्रेसन गर्लाजस्तो दुई दिनपछि मङ्गलबार बिहान ठिक नौ बजेको समय दियो ।

मङ्गलबार श्रीमतीलाई लिएर म धामीकहाँ पुगेँ । ढोकाभित्र पस्नेबित्तिकै ‘ॐ... ॐ...,’ पवित्र स्वर गुँजिरहेको सुनियो । गौरी टक्क थामिइन् र बिस्तारै वरपर आँखा घुमाउन थालिन् । निकै हल्कासँग आइरहेको त्यस सुमधुर स्वरले गोरीलाई दिक्क बनाएजस्तो लाग्थ्यो । उनले त्यही स्वरतिर कान थापेको देखेर धामीले भन्यो, “मेडमलाई ल्याएर आउनुस् ।”

“आऊ ?” म अगाडि बढेँ ।

गोरी हिडौँ कि नहिडौँ जस्तो बिस्तारै खुट्टा सार्न थालिन् ।

“समातेर ल्याउनुस् ।” धामीले चर्को स्वरमा भन्यो ।

गोरी त्यही स्वरदेखि सशङ्कित देखिन्थीन् र आँखा घुमाउँदै त्यो स्वर आएतिर कान थाप्दै थिइन् ।

हामी लिपपोत गरिएको कोठामा पुग्यौँ । पूर्वतर्फको भित्तामा ठूलै चकटी ओछ्याइएको थियो । धामी त्यसैमा बस्यो । छेउमा पूजा सामाग्री थियो । सामुन्ने पूर्वतिर फर्केर बस्नेगरी अर्को चकटी राखिएको थियो । उसले गोरीलाई त्यसैमा बस्न शङ्केत गर्यो । गोरी त्यही ‘ॐ... ॐ..,’ को स्वरले उकुसमुकुस भइरहेकी थिइन् । त्यो स्वर रेडियो, टेपरिकर्डरबाट आइरहेको थियो वा कुनै व्यक्ति गुनगुनाउँदै थियो ? मैले कुनै अन्ताज लगाउन सकिरहेको थिइनँ, तर भित्रि कोठाबाट आइरहेको जस्तो लाग्थ्यो ।

धामीले धूपबत्ती गर्यो । अनि गुनमुन गुनमुन मन्त्र पढेझैँ एकछिन बडबडाएपछि ओओ..., गरेर थर्थरी काम्यो । तीस—चालीस सेकेन्डजति थर्थराएपछि हामीले लगेका अक्षता समाएर वरपर छर्को । फेरि एक मुठ्ठी अक्षता समाएर मन्त्र पढेजस्तो गरेर जोरसँग गोरीको जीउमा फाल्दै सोध्यो, “ल भन्त, को होस् र किन आएकी होस् ?”

गोरी एक्कासि टाउको हल्लाउँदै चिच्च्याएर काम्न थालिन् । टाउको हल्लाउँदा उनको कपाल आफैँ खुल्यो । अनि त उनका झाङ्क्रा पनि नाच्न थाले । हामीलाई तर्साउन खोजेझैँ आँखा तर्दै हातका औँला कोप्राएर ह्याँ... हुँ...., गर्न थालिन् । उनको त्यो रूप देखेर जिल्ल परेँ म !

“यसकी भाउजू सुमाया हुँ भनेकी हुँइन ?” दाह्रा किटकिटाएर झाङ्क्रा हल्लाउँदै चिथर्लिन्झैँ हातका नङ्ग्रा देखाएपछि धामी त डराएछ, चिम्टा समाएर आफूतिर तान्यो ।

“यसलाई किन सताएकी त ?” धामीले सोध्ने र गोरीले काम्दै सुमाया बनेर जवाफ दिने प्रकृया चल्यो । सोधपुछपछि धामीले बोक्सीलाई बिदा दियो र मलाई भन्यो, “निकै तकडा बोक्सी हो, यसलाई छुटाउन चिहान्को माटो, रातो भाले, कालो कपडा ....” पन्ध्र–सोह्रवटा वस्तुको नाम लियो ।

“यो सामान मैले कहाँबाट जोड्नु ? तपाईं आफैँ व्यवस्था गर्नुस् ।” मैले भनेँ ।

“पाँच हजारजति छोडेर जानुस् त ।” धामीले भन्यो ।

“मसँग त्यत्रो पैसा कहाँ छ र ?” भन्दै पर्स तानेर दुई हजार निकालेको मात्र के थिएँ धामीले झयाप्पै समात्यो ।

------

दोस्रो दिन एकाबिहानै धामीको फोन आयो । उसले भन्यो, “पत्रकार महोदय, तपाईंको घरमा पनि चेक गर्नुपर्छ ।”

“हस् ।”

घरमा आएपछि नाक खुम्च्याएर सुँक्कसुँक्क सुँग्दै तलमाथि कुनाकाप्चा हेर्न थाल्यो धामी । वरपर गर्दा शिकारीजस्तो सुस्तरी हिँड्थ्यो ऊ ! केही ठाउँमा दोहोर्याएर हेर्यो । अनि मूल ढोका, सुत्ने कोठाको ढोका र भान्सा कोठाको ढोकामाथि खाली ठाउँमा औँलो सोझयाउँदै भन्यो, “बोक्सीले यी तीन ठाउँमा एम्बुस थापेकी छ ।”

मैले टाउको ढल्काएर हेर्दै भनेँ, “खैखै कता छ ? निकालेर फाल्नुस् त ?”

धामीले मेरो सरलतामाथि अट्टहास गरेर भन्यो, “त्यति सजिलै निकालेर फाल्न सकिने हो र ? विशेष पूजा गर्नुपर्छ । त्यसका लागि थुप्रै सामग्री चाहिन्छ । फेरि एम्बुस थाप्न नसक्नेगरी यो फ्ल्याटलाई जादु टुनाले बाँध्नु पर्छ !”

“कति खर्च आउला ?”

मैले पैसाको कुरा उठाएँ । किनभने पैसा नफुत्क्याउन्जेल जस्तो सुकै काम पनि मामुली ठान्ने हाम्रो स्वभावै हो । बीसको उन्नाइस त अस्पताल जाँदा पनि भएकै हो, रोग भगाउनलाई दौडधुप गर्नुभन्दा रोगसँगै बानी पर्नु पर्ने हो कि भन्ने पनि लाग्थ्यो मलाई । अँझ धामी झाक्रीको चक्करमा पैसा खर्चिनु भनेको त श्रीमतीको मन राख्न र आफूलाई पनि सन्तोष दिलाउनु मात्रै ठान्थेँ म ।

“अहिले पाँच हजार दिनुहुन्छ भने सबै काम त्यसैले सल्टाइदिन्छु ।” आँखा सन्क्याएर ‘के छ विचार ?’ भन्ने सङ्केत दियो धामीले ।

मैले एक हजार दिँदै भनेँ, “धामी दाइ ! तपाईं पाँच हजारबाट तल झर्ने कोसिस गर्नु होला । म यो एक हजारबाट माथि चड्ने कोसिस गर्छु । मलाई पैसाको बन्दोबस्त पनि गर्नुछ । भोलि फोन गर्छु ।” मोटर साइकलमा बसालेर उसैको घरसम्म पुर्याइदिएँ ।

भोलिपल्ट फोन गर्दा धामीले भन्यो “काप्रेपलाञ्चोक गाउँमा छु । हप्ता दिनपछि फर्किन्छु ।”

धामी भाग्यो भन्ठानेर हो कि गोरीको जीउमा घोच्न पोल्न सुरु भयो । धामीलाई फोन गर्दा उसले मोबाइलबाटै फुकिदियो । दुई–तीन दिन ठिक भयो ! फेरि कुरा गर्न खोज्दा धामीको फोनै लाग्न छोड्यो । पाँच–सात दिन उसैको प्रतिक्षामा बित्यो । त्यसपछि अरू झाडफुक गर्नेहरू सोध्दै खोज्दै भेट्दै गर्न थालियो । कहिलेकाहीँ बल्ल ठिक ठाउँमा आइएछ, यसैले तह लगाउँछ बोक्सीलाई भन्ने लाग्थ्यो । दुई–चार दिन नबित्दै फेरि जुन जोगी भेट्यो कानै चिरिएका भनेजस्तो हुन्थ्यो । शिवरात्रि आयो । पशुपतिको दर्शन गर्न जाँदा नागा बाबा देखेँ । नागा बाबाहरू चिहानघाटमा बस्छन् भन्ने सुनेको थिएँ । यिनैले तह लगाउँछन् होला बोक्सीलाई भन्ने लाग्यो र म त्यस्ता बाबाहरूसँग कुरा गर्ने वातावरण खोज्दै हिँडेँ ।

’’’ एउटा सत्तलमा चारजना बाबा थिए । एकजना तमाखु माड्दै थियो, अर्को गाँजा केलाउँदै थियो । मैले दृष्टि गाडेको देखेपछि ती सबैले मतिर हेरे । मैले बीसबीसका चारवटा नोट निकालेर दिएँ । तीमध्ये एउटाले चुरोट निकालेर मतिर बढायो । चुरोटको टुप्पो बटारिएको थियो । त्यो देखेर त्यस चुरोटमा गाँजा भरिएको अनुमान लगाएँ र खाँदिन भन्ने सङ्केत गरेँ ।

“नागा बाबा हेर्न आएका हौ ?” एउटाले सोध्यो ।

“नागा बाबा हेर्नेभए पशुपतिभित्र जान्थेँ ।” मैले भनेँ ।

“हामी पनि नागा बाबा हौँ ।” अर्कोले भन्यो ।

ती चारै जनाले गुप्ताङ्ग ढाकिने गरी सानो र निकै पातलो कपडा बेरेका थिए । त्यो कपडा मैलिएर ती बाबाको छालाजस्तै कालो भएकाले भित्रको दृष्य छोप्न सफल भएको थियो । पाखुरा, घाटी र जटामा रुद्राक्षको माला बेरेका थिए भने शरीरैभरि खरानी घसेका थिए । खरानी खस्नाले र ननुहाउनाले छालाका प्वाँलहरू बुझिन्छन् र बाबाहरूलाई जोडो लाग्दैन भन्ने सुनेको थिएँ । मैले तिनको लुगीतिर हेर्दै भनेँ, “नागा बाबा बन्नलाई खासै धामा देखिँदैन ।”

“दाह्रीजुगाँ नकाट्ने, नाङ्गिने र खरानी घस्ने गर्दैमा नागा बाबा भइँदैन ।” एउटाले भन्यो र गुप्ताङ्गमा हात घुसारेर सिक्री देखायो ।

बाबाहरूले ध्वनि जगाएका थिए । शिवरात्री मनाउन आएका केटाहरू हात सेक्थे, गाँजा भरेको चुरोट किन्थे, खान्थे बाबाहरूलाई जिस्क्याउँथे । कुनै पनि शङ्कालाग्दो कुरा उठेमा ती बाबाहरू गुप्ताङ्गमा हात घुसारेर सिक्री देखाउन पछि पर्दैनथे । त्यो देखेर मलाई दिक्कै लाग्यो । मैले भनेँ, “जतिखेर पनि गुप्ताङ्गमा हात घुसारेर सिक्री देखाउँदैमा नागा बाबा भइन्छ त ?”

यतिन्जेल एउटाले सुल्पामा तमाखु भरिसकेको थियो । अर्कोले रातो कपडा निकालेर ससाना चार टुक्रा बनायो । तिनको नाइकेजस्तो देखिनेले एउटा सानो झुत्रो सल्काएर सुल्पामा राख्यो र “बमबम भोले बाबा !” केही गुनमुनगुनमुन बडबडाएपछि स्वाँकस्वाँक..., स्वाँ... तान्दा सुल्पामा आगो बल्यो । आँखा र मुख बुझयो र नाकबाट धूवाँ फाल्यो । त्यो सुल्पा अर्कोले समायो । त्यसै गरी ती चारजनाले एकएक सर्को तान्दैमा तमाखु खार भएछ, धूवाँ नै आउन छोड्यो ।

“भन, तिमीलाई के चाहियो ?” एउटाले फेरि दृष्टि गाड्यो ममाथि ।

“हात हेर्ने, भूत भगाउने भनेजस्तो जादुटुना आउँछ ?” मैले सोधेँ ।

“हामीलाई देख्यो कि भूत भागिहाल्छ ! जादुटुना किन चाहियो ?” ती हाँसे ।

“मेरी श्रीमतीलाई बोक्सीले सताइरहेकी छ ! त्यस बोक्सीलाई तह लगाउन सक्छौ ?”

“सक्छौँ ।” बाबाले रमाउँदै भने, “पैसा कति दिन्छौ ?”

मेरो मनमा एउटा शङ्का उठ्यो र सुनाएँ, “तिमीहरूलाई देख्दैमा त्यो बोक्सी भाग्न सक्छे, तर तिमीहरू हिँडेपछि त आइहाल्छे !”

“चिन्ता नगर बाबू ! त्यसलाई हामी साथमै लैजान्छौँ ।”

“त्यसो भए चार हजार दिन्छु ।”

बाबाहरू मेरो घर जान राजी भए, तर यी चार जना मसान घाटमा बस्ने बाबालाई लिएर घरमा जाँदा टोलवासीले के भन्लान् ? त्यो भाउजू बनाउँदी बोक्सी घरमै होले । यी बाबालाई देखेपछि त्यसको सातै उड्थ्यो ! अनि त मेरी गोरीको पिछा छोड्थी कि । आफ्नो हिम्मत बढाउनलाई गाँजाको सहारा लिनूपर्ने लाग्यो । मैले भनेँ, “चिलिम बनाउनु त बाबा ! हिम्मत बढाउनु पर्यो ।”

तिनले चिलिम बनाए । स्वाँक्क स्वाँक्क एकएक सर्को तान्दै मलाई दिए ।

“जोरसँग ।” एउटाले मलाई सुर्यायो ।

सक्दो बल लगाएर तानेको त फट्को लाग्यो । मुख र नाकबाट केके निस्क्यो भनी साध्य छैन, आँखाबाट आँशु आयो । रन्थनिएर खोप्टो परेँ ।

रिँगाटा लाग्न छोडेपछि मैले आँशु पुच्दै ठट्टा गरेँ, “पैसा दिएकै छैनँ, यसरी तर्साउने हो ?”

तिनीहरू हाँसे ।

“ल जाऊँ मेरो घरमा ।” म उठेँ ।

तिनले एडभान्स मागे ।

दुई हजार दिँदै बाँकी मेरो चित्तबुझदो काम भयो भने मात्रै दिन्छु भन्ने अड्को थापेँ ।

एउटाले कन्ननीमा ससाना चिन्डो झुन्ड्यायो र त्रिशुल समायो । अर्कोले सुल्पा र प्लाष्टिकको सानो पोको झुण्ड्यायो र डमरु समायो । तेस्रोले कपडाको कुटुरो लौरोमा बाँध्यो र काँधमा राख्यो । तीन जना हिँड्नलाई तयार भए । चौथ्यो बाँकी सामान कुरेर त्यही सत्तलमा बस्ने भएछ ।

तिनले बोकेको सामानका बारेमा जान्न खोज्दा, बोक्सीलाई यसै चिन्डोमा हालेर काँसी लैजाने भन्दै हाँसे । पोकामा तमाखु र गाँजा थियो भने कुटुरामा मसानको राख, शङ्खभनेजस्ता आवश्यक परेमा अतिरिक्त शक्ति लगाउने सामानहरू बोकेको जानकारी दिए ।

हामी मेरो घरतिर हिँड्यौँ ।

बाटोमा बाबाहरूलाई चिया र पाउरोटी खुवाएँ । त्यसपछि डमडम डमरु बजाउँदै हिँड्न थाले । त्यस स्वरले टोलवासीहरू झयाल ढोकाबाट चियाउँदै थिए ।

घरमा पुगेपछि मैले चिया खुवाएँ । तिनले गाँजा पनि खाए र एक मुठी चामल मागे । तिनको गुरुले चामल हातमा खेलाउँदै केही गुनगुनाएर घरमा भित्रबाहिर छर्दै, “आइज हो बोक्सी नाचौँ ।” भन्यो । त्यसपछि कुनै सङ्केत पाएझैँ बिस्तारै वरपर दृष्टि घुमायो । अनि डमरु समाएर डमडम ..., बजायो । माथिल्लो तलाबाट काम्दै आइ मेरी भाउजू सुमाया । ‘हु..., हु...,’ घोक्र्य्रो बजाउँदै, झाङ्ग्रा हल्लाएर चिथर्लीजस्तो नाखुन देखाउँदै थिई ।

बाबाहरू हात उठाएर खुट्टा उचाली उचाली नाच्न थाले । मेरी भाउजू पनि त्यसैगरी नाच्न थाली । ती नाच्दै लाम लागेर आगनमा झरे ।

टोलबासीहरू सबै जम्मा भए ।

“तेरो नाम के हो ?” बाबाले नाच्दै सोध्यो ।

“सुमाया ।”

“आइज सुमाया नाच्दै काँसी जाऊँ ?”

“नाइँ ।” सुमाया चिच्च्याई ।

“अरूलाई खुब सताउँदिरहिछस्, तँलाई छोड्दौन हामी ।”

“नाइँ गाइँ खाएँ गुँ खाएँ, अब म कसैलाई दुःख दिन्न मलाई छोड्देऊ ।” सुमायाले हात जोडी ।

मेरी श्रीमतीलाई चित्त बुझेछ । छिनछिनमा ‘ठिकक परिस्, ठिकक परिस् ...।’ भनेर नाक घोक्र्य्राउन थालिन् । त्यो देखेर मलाई पनि जङ चलेछ, ताली बजाउँदै नाच्न थालेँ ।

मेरो दाइले टोलका केटाहरूलाई जम्मा गरेछ । लामालामा भाटा ठटाउँदै निस्के ।

“भागौँ बाबा भागौँ ! फेरि आउँला !” मैले बाबालाई बाटोतर्फ धक्याएँ । पछाडिबाट पाँच–सात जनाले भाटा ठटाउँदै तलसम्म लघाटे । म पछाडि थिएँ । दुई चोट भेटेँ ।

------

मेरी श्रीमतीको घोच्ने, पोल्ने र सिर्का हान्ने रोग चटक्कै भयो । कहिलेकाहीँ भाउजूलाई देखिन् भने उनको हेराइ र अरू तौरतरिकाको चुक्ली लगाउँछिन् । म ती ‘नागा बाबाहरू काठमाडौँमै छन् रे बोलाऊ ? केकस्तो छ भनेर बेलाबखत आफैँ फोन गरिरहेका हुन्छन् ।’ भनेर ढाडस दिन्छु । उनी दङ्ग पर्दै नाक घोक्र्य्राउँछिन् । गोरीको विश्वस्तताले केही दिनसम्म उनको गनथनमुक्त भइन्छ भन्नेमा ढुक्क हुन्छु म ।

बखतबहादुर थापा