मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ ।
श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् ।
पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा टेलिभिजन र फ्रिज किन्न ७० हजार रुपैयाँ पठाइदिन भनिन् । त्यतिबेला त छोराले हुन्छ भने । तर उनले फोन गर्न मात्रै छोडेनन सम्पर्कविहीन नै भए । टिभी र फ्रिज किन्न पैसा मगाएकी पार्वती छोरो सम्पर्कविहीन भएपछि ऋण के गर्ने भन्ने चिन्तामा छिन् ।
मैले माथि दिएका उदाहरण परदेशीका परिवारमध्येका धेरै परिवारको प्रतिनिधित्व गर्ने परिवारको हो । हुन त सबैले विदेश जानेहरुसँग यस्तै व्यवहार गर्छन भन्ने त होइन तर यी उदाहरण हेर्ने हो भने विदेश गएकाहरुको त्यहाँको अवस्था नबुझी यहाँबाट एकोहोरो आफ्ना कुरा मात्रै भनिरह्यो भनेपनि उनीहरु सम्पर्कविहीन हुने रहेछन भन्न गाह्रो पर्दैन ।
यी उदाहरण दिएका व्यक्ति सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रकी मनोसामाजिक परामर्शकर्ता सरिताकुमारी लामाले भेटेका व्यक्ति हुन् । उनीहरुको कुरा सुन्दा विदेश गएकाहरु पैसा पठाइदिन भनेपछि सम्पर्कविहीन भएको देखिन्छ तर त्योसँगै जोडिएर आउने अर्को महत्वपूर्ण कुरा हो बोली ।
परिवार भन्दा टाढा रहेकाहरुसँग राम्रोसँग बोल्न जानिएन भने पनि त्यसले समस्या ल्याउँछ । पार्वतीकै कुरालाई हेर्ने हो भने उनका छोराले जाँदाको ऋण तिरेकै रहेनछन् । सायद उनले पहिला ऋण तिरिसक्ने सोचेका थिए । तर घरबाट ऋण तिर्ने नभइ सामान किन्ने कुरा आएपछि उनले फोन गर्नै छोडिदिए ।
हुन त विदेश जानु अघि धेरैले त्यहाँ त पैसाको रुख हुन्छ अनि टिप्ने हो भने जस्तै कुरा गरिरहेका हुन्छन् । त्यही भएर परिवारले पनि त्यही अनुसारकै आश गरेका होलान । तर विदेश पुगेपछिको यथार्थ त्यो भन्दा बिल्कुल फरक हुन्छ । यहाँ सोचेको र भने अनुसारको कमाइ नहुन पनि सक्छ ।
त्यतिबेला परिवारले कुरा नबुझिदिँदा समस्या आउन सक्छ । त्यसैले परिवारका सदस्य विदेशमा हुनेहरुले उनीहरुसँग बोल्ने तरिकादेखि भन्ने कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।