विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आर्थिक अवस्था नाजुक रहेको अल्पसंख्याक र सिमान्तकृत समु्दायमा तीन जना विद्यार्थीको अभिभावक बनेका छन् ।

मोरङ रतुवामाई नगरपालिकाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावक मुख्यमन्त्री राई बनेका हुन् । अभिभावक बनेसँगै मुख्यमन्त्री राईले ती विद्यार्थीहरुलाई स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका छन् ।

मुख्य मन्त्री अभिभावक पाएका उनीहरु अल्पसंख्याक र सिमान्तकृत समु्दायमा पर्दछन् । आभिभावक आर्थिक स्थिती न्युन रहेका ती परिवारका ५ वर्षिय खातुन, ६ वर्षिय शुर्दसन र ६ वर्षिय विनोद नर्सरीमा भर्ना भएका हुन् । विद्यालय भर्ना अभियान स्वरुप मुख्य मन्त्री राईले उनीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।

सरकारले १ वैशाख देखि १४ गतेसम्म विद्यार्थी अभियान सञ्चालन गरेको छ । सरस्वती माविमा आइतबार आयोजित विद्यार्थी भर्ना अभियानमा तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गदै मुख्य मन्त्रीले १० सम्मको पठन पाठनपाठन गर्ने जिम्मा लिए ।

उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाले उनीहरुको लागि पाठ्यपुस्तक र पोशाकको समेत व्यवस्था गरिदिएको छ । नगरपालिकाले सहयोग गरेको पाठ्यपुस्तक र पोशाक मुख्यमन्त्री राईले उनीहरुलाई प्रदान गरेका थिए ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानमा मुख्यमन्त्री राई पहिलो पल्ट अभिभावक बनेका हुन् ।

विद्यार्थी भर्नापछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई तीन वर्ष भित्र पूर्ण साक्षर प्रदेश बनाउने अभियानलाई पुर्ण सफल बनाउन लािग पर्ने बताए । सरकारले ल्याएको यस अभियानमा प्रदेशका सवै अभिभावकले आफना बाल बालिका विद्यालय भर्ना अनिवार्य गर्नु पर्ने बताए । उनले भने, ‘अनि मात्र साक्षरता अभियानले सार्थकता पाउनेछ ।’

अभिावकत्व ग्रहण गरेका तीन बालबालिकाको सम्पूर्ण पठाईको जिम्मा आफूले लिएको बताउँदै मुख्यमन्त्री राईले शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको बताए । उनेल शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनु नपर्ने बताए ।

कार्यक्रममा प्रदेश १का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले विद्यालय भर्ना अभियानलाई सार्थक तुल्याउन सवैको सहयोग आवश्य रहेकोमा जोड दिए ।

कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रविन राईले नगरपालिका भित्र रहेका ४१ वटा सामुदायिक विधालयको गुणस्तर शिक्षामा लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रदेश १ मा पर्ने १४ जिल्ला मध्ये ८ जिल्ला साक्षरता घोषणा भई सकेको जानकारी दिएको थियो ।