बर्दिया/ बर्दियाका जिल्ला शिक्षा अधिकारी (जिशिअ) ज्ञानमणि नेपालमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । निवासमा पढाउने बहानामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि जबरजस्ती करणी मुद्दा दायर भएको छ ।

फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुर्व्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय बिदा भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुर्व्यवहार गरेको आरोप छ । पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुरव्यवहार गरेको आरोप छ ।

नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । उनका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

रासस