विराटनगर । १ नम्बर प्रदेशसभा संसदबाट सार्वजनिक लिखत प्रमाणिकरण विधेयक –२०७४ सर्वसम्मत रुपमा पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गत बिहीबार बसेको प्रदेश सभाको वैठकमा उक्त विधेयक पेश गरेका थिए । संसदमा आवश्यक छलफलका लागि दिइएको ७२ घण्टाको समयमा कसैले पनि संशोधन प्रस्ताव नराखेपछि आजको बैठकले सर्वसम्मत ढंगले विधेयक पारित गरेको हो ।
संसदमा गत शुक्रबार पेश भएको गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक बुधबार पारित गर्ने कार्यसूची रहेको छ । प्रदेश सञ्चालनका लागि एक नम्बर प्रदेशका मन्त्रालयहरुले धमाधम कानुन बनाउन जुटिरहेका छन् । सार्वजनिक लिखत प्रमाणिकरण विधेयक पारित भएसँगै प्रदेश नं १ को सरकारले पास गरेको विधेयकको संख्या तीन पुगेको छ । अन्य एक दर्जनबढी विधेयकको मस्यौदा तयार भएर सदनमा टेवल गर्न मन्त्रीपरिषद्बाट सैद्धान्तिक सहमति जुटाउने प्रक्रिया सुरु भएको प्रदेश सरकारले जनाएको छ ।