पानवारी । बालबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने उद्घोषणकला तालिम दिइएको छ ।
धरान १९ नं. वडा कार्यालयले शुक्रबार र शनिबार गरी २ दिने तालिम वडाका ४० जना बालबालिकालाई दिएको हो । वडामा रहेका ६ वटा बाल क्लब र विद्यालयबाट तालिममा सहभागी भएका थिए । प्रशिक्षक दोर्पध्वज राईलाई बालबालिकाहरुलाई उद्घोषणकलाको प्रशिक्षण दिएका थिए । शनिबार भएको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक राईले बालबालिकाहरुमा भएको ‘वाक कला’ सबैभन्दा राम्रो पाएको बताउदै आफुले तालिममा बालबालिकाहरुलाई ठूलो मान्छे बन्न नभई असल मान्छे बन्न प्रेरित गरेको बताए ।
समापन कार्यक्रम सञ्चालन तालिममा सहभागी बालिका प्रेरणा सुवेदीले गरेकी थिइन भने संगीता तामाङ र भविष्य राईले मन्तव्य व्यक्त गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धरानलाई बाल मैत्री शहर यही साल भित्र गर्ने लक्ष्य रहेको भन्दै बालबालिका मैत्री कार्यक्रमहरु नगरभरी भनै सञ्चालनमा रहेको बताएका थिए । उनले कुनैपनि नगर, क्षेत्र र देशको विकास भौतिक विकासले मात्र सम्भव नभएको भन्दै देश विकासको निम्ति सामाजिक र सांस्कृतिक विकास पनि सँगसँगै गर्नुपर्ने औल्याएका थिए । कार्यक्रमको अध्यक्षता गरेको १९ नं. वडाका वडाध्यक्ष पूर्णबहादुर लिम्बूले धरान नगरपालिकाले अगाडी बढाएको बालमैत्री कार्यक्रमलाई सफल बनाउन आफु पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।