काठमाडौं/सानोमा आफ्नी आमाकी असाध्यै मिल्ने साथीको घरमा भएको पार्टीमा प्रियंकालाई नाच्दै गरेको सन्तोष पन्तले ‘स्पट’ गरे। उनी प्रियंकाको नाचबाट प्रभावित भए। पन्तले प्रियंकालाई ‘हिजो आजका कुरा’ खेलाउन चाहेको इच्छा उनकी आमा समक्ष राखे। आमा सहमत भइन्। उनले बिदाको सदुपयोग गर्दै बाल कलाकार बनेर काम गरिन्।
छोरीको अभिनय र नाचमा लगाव देखेर उनका बाबुआमाले सानोमा ‘महादेवी’ फिल्मको अडिसनमा लगेको उनलाई सम्झना छ। उनले सो फिल्ममा पनि काम गरिन्। स्कूल पढ्दै गर्दा घरमै गएर म्यूजिक भिडियो खेल्ने प्रस्ताव गयो। त्यो पनि उनले खेलिन्। यस्तै कुराहरूले नै प्रियंकालाई अभिनयमा डोर्याए। त्यो भन्दा धेरै उनको बाबुआमाको छोरीको रूचिमा रहेको बेरोकटोकले उनमा अभिनेत्रीपन झन झ्यागिदैं गयो।
सन् २००५ मा उनी मिस टिन भइन्। त्यसको लगत्तै उनी अमेरिका हानिइन, करिब ६ वर्षपछाडि स्क्रिन राइटिङमा मार्टर्स गरेर नेपाल फर्किइन। उनलाई नेपालमै केहि गर्न मन थियो। नेपाल आउँदा ‘मिस टिन’को भूत परिचय भए पनि ६ वर्षपछि फर्किदा करियर के होला? कसरी सुरू गर्ने होला? भन्ने डर उनमा थियो। सुरूवात खास सोचेजस्तो भएन। सोचेजस्तो नभए पनि भित्र मनमा प्रियंका हारेकी थिइनन्। मेहेनत गरेपछि हुन्छ भन्ने थियो।
उनको मेहेनतले काम गर्यो, फलस्वरूप उनी आज नेपालकी व्यस्त अभिनेत्रीको सूचिमा माथी नै पर्छिन्। जो-जसले प्रियंकासँग काम गरे उनीहरू प्रियंकाको कामप्रतिको लगावका प्रशंसक छन्। उनी काम गर्दा कसैले यस्तो चाहियो भनेपछि ‘नाईं’ भन्दिनन्। यसैले उनी सबैको रोजाइमा पर्छिन्। तर, उनलाई अझै सोचेजस्तो गर्न नपाएको लागिरहन्छ। कुनै दिन आफै प्रोडक्सन गरेर गर्न नपाएको कुरा गर्ने इच्छा उनीसँग छ।
'मलाई काम पाउँछु वा पाउँदन भन्ने कुराले त्यति ज्यादा चिन्ता पारेन तर एकप्रकारको स्ट्रेस भयो। यहाँ रहेको एकले अर्काको खुट्टा तान्ने आदि कुराहरूले चिन्ता पार्यो। नकारात्मकता धेरै विक्छ, यहाँ १० वटा राम्रो कुरा होस तर हेडलाइन बिकाउन एउटा ‘नेगेटिभीटी’लाई उचाल्ने कुरा छ। यी कुराहरूले दिने तनावले मलाई ‘एनजाइटी’ भयो।'
२०१५ मा मलाई ‘एनजाइटी’ सुरू भयो। त्यतिखेर मैले मलाई के भएको बुझ्नै सकिन। मलाई एकैपटक सास फेर्न गार्हो भएजस्तो हुने, एकैपटक जिउ तात्ने, पसिना आउने, एकदमै असहज भएजस्तो, गार्हो हुने हुन्थ्यो। अचानक सास फेर्न गार्हो हुने, राती निन्द्रा नलाग्ने । त्यो एन्जाइटीले भएको हो भनेर मैले सुरूसुरूमा पत्ता लगाउन नै सकिन। प्रेसर हाइ भको होकी लो भको मैले छुट्याउन नै सकिरहेको थिइन। यो सबै चिज मलाई थाहै नभइकन भइसकेको रहेछ।
त्यसपछि म नर्भिक डक्टरकोमा गएँ। मैले आफ्नो हालत सुनाए, डक्टरको नाम मैले बिर्से, उहाँले एकदमै कुल तरिकाले एउटा बोर्ड देखाउँदै, त्यसमा लेखिएको कुरा पढ्नुस्। तपाईलाई यहाँ लेखिए जस्तै हुन्छ ? भनेर सोध्नुभयो। त्यसमा लेखिएका सबै कुरा मलाई भइरहेका थिए। उहाँले ‘ल तपाईलाई डिप्रेसन भएछ, औषधी खानुस’ भनेर भन्नुभयो।
फिल्ममा यस्ता कुरा देखाउँदा साइकियाट्रिक्सले कुराहरू गर्थ्यो, सुन्थ्यो तर यहाँ त एकैपटक औषधि खानुस भनेर भन्छ। तपाईलाई थर्ड डिग्रीको डिप्रेसन भयो भन्छ। मैले उहाँलाई हैन तपाईले मेरो कुरा सुनेर पहिला त साइकोलोजिकल्ली हेल्प गर्ने हो भन्दा डाक्टर ‘हैन जति कुरा सुने पनि गरे पनि तपाईले यहि औषधि खाने हो भन्छ।’ तर म त्यति बिग्रेको अवस्थामा थिइन, मैले आफूलाई अँह औषधि त खाँदै खान्न भने। डाक्टरलाई मुद्दा नै हाल्दिन्छु, एकैपटक यस्तो भन्ने भनेर पनि भयो।
घर आएँ, गुगल गरें, एकजना विदेशी भेट्टाए, डक्टर रूनै। सानेपामा उहाँको क्लिनिक रहेछ। म उहाँकोमा गएँ । त्यहाँ बल्ल मैले फिल्ममा देखाइनेजस्तो वातावरण पाएँ। ६ महिना मैले साइकियाट्रिक सहयोग लिएँ। मलाई यो कुरा भन्दा केहि लाज लाग्दैन। नेपालमा यो कुरा भन्दाचाँहि मान्छेले पागल भन्दा रहेछन्। यो परिवर्तन हुनु जरुरी रहेछ।
उपचार गर्दै जाँदा म एकपटक मलेसियन प्लेन समुन्द्रमा हराएको बखत मलेसियाको एयरपोर्टमा थिएँ, त्यहाँ सो प्लेनमा सवार यात्रुका आफन्तहरूको पीडाले मलाई एन्जाइटीको स्तर बढाइदिएको रहेछ। उहाँले मेरो कुरा सुनेपछि मेरो दिमागको सिपियू ह्याङ भएको हो, त्यसलाई रिस्टार्ट नगरेसम्म यो ह्याङ कायम रहिरहन्छ भन्नुभयो। उहाँले मलाई काउन्सिलिङ गरेर विस्तारै मलाई पुरानै अवस्थामा ल्याइदिनुभयो।
अहिले पनि त्यसले छोडेको छैन तर म त्यसलाई कन्ट्रोल गर्नसक्छु। एउटा समय म आफूलाई सम्हालनै नसक्ने अवस्थामा भने पुगेको थिएँ। म यो अन्तरवार्ता पढ्नेलाई के भन्छु भने कृपया महिनामा एकपटक साइकियाट्रिककोमा गएर कुरा गर्नुस। म अझै पनि डक्टर रूनिकोमा जान्छु र आफ्नो मनको कुरा सुनाएर हल्का भएर फर्कन्छु।