पानवारी । धरान–१७ स्थित दीपेन्द्र स्मृति आधारभूत विद्यालयका ५० जना दलित बालबालिकाहरुलाई धरान उपमहानगरपालिका अन्तर्गत दलित विकास समितिले शैक्षिक सामग्री वितरण गरेको छ ।
धरान उपमहानगरपालिकाको लक्षित वर्गका कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कपी, पेन्सिल, इरेजर र पेन्सिल कटर वितरण गरिएको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् । आधारभूत क्षेत्रमा रहेको सो विद्यालयका बालबालिकालाई अध्ययनमा सहयोग पु¥याउने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले जानकारी दिएका छन् । सुब्बाले दलित विकास समितिलाई आवश्यक सबैखाले नीति, योजना र कार्यक्रम निर्माण गरी दलित समुदायको विकासको निम्ति कार्य गर्न अधिकार प्रत्यायोजन गरिएकोले कार्यक्रमहरु अझ प्रभावकारी हुनेमा विस्वस्त रहेको बताए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको अवस्था कमजोर हुनुमा शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै उनले भने–‘भर्खरै कक्षा ८ को नतिजा हेर्दा मलाई ज्यादै चिन्ता लागेको छ । सबै सामुदायिक विद्यालयहरु उत्कृष्ट नजिता ल्याउने गरी लाग्न आग्रह गर्दछु । के आवश्यक छ स्थानीय सरकारसँग माग गर्नुहोस् तर गुणस्तरमा सम्झौता नगर्नुस् ।’ सुब्बाले समाजको सबैभन्दा पछि परेको दलित समुदायको उत्थानका निम्ति सबैले साथ दिनुपर्ने र शिक्षा क्षेत्रमा संवेदनशील भएर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा दीपेन्द्र स्मृति आधारभूत विद्यालयका अभिभावक तथा शिक्षासेवी श्यामबहादुर कट्वालले विद्यालय सञ्चालनको अनुमति जिल्ला शिक्षा कार्यालयले प्रदान गरे पनि दरबन्दी स्वीकृत नगर्दा योजना अनुरुप प्रगति गर्न नसकिएको बताए । विद्यालयमा अध्ययनरत आधाभन्दा बढि विद्यार्थी दलित समुदायका भएको र ती मध्ये अधिकांश अभिभावकलाई दुई छाक टार्र्न समस्या भएकाले विद्यार्थीहरुको पढाईमा लगानी गर्न नसकेको बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सत्रको शुरुवातमा नै शैक्षिक सामग्री प्रदान गरिदिँदा राहत पुगेको भन्दै उनले सो विद्यालयको स्तरोन्नती तथा प्रगतिका लागि नगर सरकारले विशेष सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा दलित विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । उनले दलितहरु शैक्षिक विसका लागी स्थानीय सरकारले विशेष योजना र कार्यक्रम सञ्चालन गर्ने बताए । विद्यालय उत्प्रेरणा कार्यक्रमका संयोजक खगेन्द्रबहादुर नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत गणेश प्रसाद खतिवडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना लावती, दलित अधिकारकर्मी लालबहादुर सिन्च्यूरी, समाजसेवी तिलकबहादुर सुनुवार, विद्यालयका संस्थापक सुरज बराइली, धरान–१७ नम्बर वडाका कार्यवाहक अध्यक्ष सुवास बर्देवा, विद्यालयका संस्थापक प्रधानाध्यापक पदमकुमारी गेलाल लगायत अतिथिका रुपमा रहेका थिए ।
सुकुम्बासी क्षेत्रमा रहेको दीपेन्द्र स्मृति आधारभूत विद्यालय विभिन्न संघ संस्था तथा व्यक्तिहरुको अनुदान सहयोगमा सञ्चालन हुँदै आएको छ । १४ कठ्ठा जमिन रहेको सो विद्यालय कक्षा ५ सम्म सञ्चालन भइरहेको छ । विद्यालयमा भवन, खानेपानी, शौचालय, किचन, खेलमैदान लगायतका भौतिक संरचना पर्याप्त रहेका छन् । ८ जना शिक्षक रहेको सो विद्यालयमा एक सय भन्दा बढि विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । अभिभावकले समेत आफ्ना बालबच्चाले शैक्षिक सामग्री प्राप्त गर्दा राहत महशुस भएको बताए । विद्यालयमा अध्ययनरत बालबालिकालाई नेदरल्याण्डका नागरिक मिस्टर ह्याङ्गले दैनिक खाजा नास्ताको समेत प्रबन्ध गर्दै आएका छन् ।