पानवारी/कवि विमल गुरुङ स्मृति पुस्तकालयले देशभरीबाट वर्षभरी प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई पुरस्कृत गर्ने निर्णय गरे अनुरुप ‘त्यसपछि फुलेन गोदावरी’ पुरस्कृत गर्ने भएको छ ।

शुक्रबार पुस्तकालयमा पत्रकार सम्मेलन गरी पुरस्कार बारे जानकारी दिइएको थियो । कवि बिमल स्मृति पुस्तकालयमा वर्षभरीमा जम्मा भएका पुस्तकहरु मध्ये उत्कृष्ट पुस्तकलाई पुस्कृत गरिने पुस्तकालयका अध्यक्ष समेत रहेका स्व. कवि बिमल गुरुङका पिता पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् । यसैवर्षदेखि एउटा पुस्तकलाई पुरस्कृत गर्न सुरु गरिएको भन्दै गुरुङले भने पुरस्कार राशी ५१ हजार राखिएको छ ।

पुरस्कार हरेक वर्षको बैशाख २४ गते कवि विमल गुरुङ दिवंगत भएको स्मृतिमा प्रदान गरिने अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । लेखक, साहित्यकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले र पुस्तकालयको गतिविधि बढाउने उद्देश्यले यो कार्य गरिन लागिएको हो ।

पुरस्कृत हुन पुस्तक छनौट गर्न एक समिति गठन गरिएको र उक्त समितले यसवर्ष पुस्तकालयमा जम्मा भएका सबै पुस्तक अध्ययन गरेर उत्कृष्ट ४ कृति छनौट गरेको थियो । उत्कृष्ट ४ को सूचिमा पुरस्कृत हुन लागेको पुस्तक ‘त्यसपछि फुलेन गोदावरी’ महेश पौड्यालले लेखेको कथा संग्रह, प्रसंन्न घिमिरेले लेखेको कविता संग्रह ‘मिभोर’, भिष्म उप्रेतीले लेखेको कविता संग्रह ‘आधा उज्यालो’, कल्पना श्रेष्ठ कल्पपुञ्जले लेखेको उपन्यास ‘सञ्जीवनी’ परेका थिए ।

यी चार पुस्तकहरु मध्ये ‘त्यसपछि फुलेन गोदावरी’ले नेपाल तथा भारतको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने नेपालीको ग्रामिण जनजीवनको कथालाई सुन्दरतापूर्वक ढंगले बुन्न सफल भएको भन्दै पुरस्कृत गर्न लागिएको पुस्तकालयका अध्यक्ष गुरुङले बताए । पुस्तकालयले आगामी बर्षदेखि बर्षमा एक जनालाई ‘पुर्ण–सरस्वती सम्मान’ पनि प्रदान गर्ने भएको छ । उक्त सम्मान भने कार्तिक १९ गते हुने राष्ट्रिय कविता प्रतियोगिताको दिन प्रदान गरिने निर्णय गरिएको छ । यस अघि हरेक वर्ष दुईजनालाई सम्मान गर्दै आइरहेको थियो ।

पुस्तकालयले आयस्रोत बढाउनको लागि सदस्यहरु बनाउँदै प्रत्येक सदस्यहरुबाट प्रवेश शुल्क २ सय रुपैया लिने र मासिक शुल्क एक सय रुपैया लिने निर्णय गरेको छ । पुस्तकालय सञ्चालनको लागि ५० लाखको अक्षय कोष खडा गरिएको छ ।