इटहरी । शहरका ठूला तथा साना निजी विद्यालयहरूले अभिभावकको ढाड सेक्ने गरी शुल्कवृद्धि र भर्नामा मनपरी गरेको भन्दै दुई विद्यार्थी सङ्गठनले प्याब्सन र एन–प्याब्सन सुनसरीका कार्यालयमा तालाबन्दी गरेका छन् । पछिल्लो समयमा निजी विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरूबाट रकम असुलेको विद्यार्थीहरूको भनाइ छ । संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२ लाई अवज्ञा गर्दै शिक्षामा सिन्डिकेट कायम गरी शुल्क आतङ्क मच्चाएकोे भन्दै माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र एमाले निकट सङ्गठन अनेरास्ववियुले प्याब्सन र एन–प्याब्सनका कार्यालयमा तालाबन्दी गरेका हुन् । शुल्क मापदण्ड निर्देशिका कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थी सङ्गठनहरूले दिएका छन् । अनेरास्ववियुका सुनसरी उपाध्यक्ष रोशन रेग्मी र क्रान्तिकारीका सचिव बुद्रोस लिम्बूद्वारा जारी विज्ञप्तिमा शुल्कवृद्धि फिर्ता हुनुपर्ने माग गरिएको छ । काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका सुनसरी अध्यक्ष मन्दिप भट्टराईले बढी शुल्क लिने स्कूललाई कडा कारवाही गर्न माग गरे । ‘विद्यार्थीहरूमाथि व्रह्मलुट गर्ने अभियान बन्द होस् ।’ उनले भने । विद्यार्थी नेता एकराज दाहालले पछिल्लो समयमा निजी विद्यालयहरूको मनपरीतन्त्र बढ्दै गएको कारण संस्थागत विद्यालयका कार्यालयहरूमा तालाबन्दी गरिएको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई लुटतन्त्रबाट जोगाउन चाहन्छौँ ।’ विद्यार्थीहरूबाट विद्यालयले व्रह्मलुट मच्चाइरहेको भन्दै दाहालले त्यो नियन्त्रण हुनुपर्ने माग गरे । प्याब्सनका सुनसरी अध्यक्ष सुमित थापाले भने निजी विद्यालयमा जथाभावी शुल्क नलिइएको दाबी गरे । कार्यालयमा तालाबन्दी भएको कारण नियमित काम हुन नसकेको अध्यक्ष थापाको भनाइ छ ।