इटहरी । इटहरी २०६३ साल वैशाख २६ गते १३ जना बालबालिका बोकेर विद्यालय जाँदै गरेको तत्कालीन मुनलाइड इङ्लिस बोर्डिङ स्कुलको टेम्पो झुम्का नहरमा डुबेर तेह्र बालबालिकाको निधनमा स्थापना भएको तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयल आफ्नो ११ औँ बार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न गरेको छ । तिनै बालबालिकाको स्मृतिमा २०६४ बैशाख २६ गते स्थापना भएको विद्यालयको ११ औँ बार्षिकोत्सव बुधबार एक भव्य कार्यक्रमको आयोजना गरी मनाइएको हो । विद्यालयमा पढ्न आउने बालबालिकाका लागि ड्रेसका कपडादेखि कापी कलम मात्रै नभएर पढेवापत कुनै शुल्क तिर्नु नपर्ने विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाले बताए । निःशुल्क रूपमा आफूहरूले कक्षा सञ्चालन गर्दै आएको र विद्यालयमा आफ्नो, एकजना पिएन र बालकक्षा हेर्ने एकजनाको मात्रै सरकारी दरबन्दी रहेको तथा बाँकी ११ जना शिक्षकका लागि विभिन्न व्यवसायीबाट सहयोग उठाएर खर्च दिने गरेको उनले बताए । विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ७ सम्म पढाई हुने गरेको र हाल १२३ जना विद्यार्थी छन । कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले विद्यालयमा अंग्रजी माध्यमबाट पढाई हुनु र समाजकै लागी उदाहरणीय पात्रको रुपमा स्थापित हुनु सराहनीय र उदाहरणीय रहेको बताए । कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, प्याव्सन सुनसरी अध्यक्ष सुमित थापा, मञ्जरी पेन्ट्सका सञ्चालक माधव भट्टराई, आइसीसी कम्प्युटर सेन्टर तरहराका सञ्चालक शम्भु घिमिरे, कोशी कलेजका प्रशाशकीय अधिकृत विदुर निरौला, क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारी, उपाध्यक्ष सन्देश राई, विशाल बास्तोला, पशुपति केवलका मुकुन्द भट्टराई, पत्रकार याम प्रधान लगायत अन्य व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष भीम बहादुर पौडेलको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।