दैलेख/ दैलेखको आठवीस नगरपालिका–४ की ४० वर्षीया दुर्गा नेपालीको दिनचर्या गिट्टीको थुप्रोबाट सुरु हुन्छ। एकाविहानै कर्णाली किनारमा पुग्छिन्। गिट्टीको थुप्रो हेर्दै टोलाउछिन्। हातमा उठेका ठेला हेर्दै उनी भावुक बन्छिन्। उनका श्रीमानको केही वर्षअघि मृत्यु भएको हो। श्रीमानको मृत्युपछि परिवारको सबै अभिभारा उनको काँधमा आइपर्यो। त्यसपछि नगरपालिका कार्यालय नजिकै रहेको कर्णाली किनारमा ढुंगा कुट्नु बाध्यता बन्यो। एक हातमा हतौडा र अर्को हातमा पुराना चप्पलको सहायताले ढुंगा फुटाउन व्यस्त दुर्गा बेला–बेला एकोहोरो टोलाउछिन्।
[caption id="attachment_82372" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]एकाएक छोरा–छोरीको भविष्यलाई सम्झेर झस्किन्छन्। उनका चार छोरी र एक छोरा छन्। जेठी छोरी सीता नेपाल अहिले सात कक्षा पढ्छिन्। पढाइ छोडेर तीन वर्ष भारतमा बिताएकी सीता अहिले गाउँ फर्किए विद्यालय जान थालेकी छिन्। ‘पढ्नु पर्छ भन्ने भावनाको विकास भएर विद्यालय जान थालेकी हुँ’, सीताले भनिन्। उनकी अर्की छोरी रञ्जना नेपाली अहिले कक्षा ५ मा पढ्दै छिन्। उनले भविष्यमा डाक्टर बन्ने सपना बोकेकी छिन्। उनी फर्सदका समयमा आमालाई सहयोग गर्न कर्णाली किनारमा गिट्टी कुट्न पुग्छिन्। ‘ठूलो भएपछि डाक्टर बन्ने धोको छ,’ रञ्जनाले भनिन्। डाक्टर बन्ने सपना बोकेकी रञ्जनालाई दैलेखका विभिन्न सामाजिक संघ–संस्थाहरूले सहयोग गर्दै आएका छन्। दुर्गाले कर्णाली किनारमै गिट्टी कुटेरै छोरा छत्र नेपालीलाई निजी विद्यालयमा पढाएकी छिन्।
कर्णालीका किनारका ढुंगा फुटालेर घर खर्चसँगै साना छोरा छोरीलाई स्कुल पढाउदै गरेकी दुर्गाको कहर कसैले सुनेको छैन। आठवीस नगरपालिका ४ की ७० वर्षीया मन्दरी बिकको दिनचर्या पनि दुर्गाको जस्तै छ। उनको श्रीमान्को मृत्यु भएको ७ वर्ष भइसक्यो। मजदुरीका लागि भारत गएका छोराको उतै ज्यान गयो। ४५ वर्षीय विकका छोरा दया विकको भारत गएको सात दिनमा मृत्यु भएको थियो। आँखा भरी आँसु पार्दै मन्दरीले भनिन्, ‘मजदुरीका लागि भारत गएको छोरा फर्केर आएन।’ अहिले उनी बुहारी र नातीहरूसँग बस्दै आएकी छिन्। ‘घरमा सासु बुहारी नै विदुवा भएर बसेका छौँ। नाती नातिनाको भविष्यका लागि पनि दुःख गरिरहेकी छु’, उनले भनिन्।
उनी जस्तै ८० वर्षीया वृद्ध धनसरी विकले कर्णालीको किनारमा ढुंगाको व्यापार गर्दै जीवन गुजारा गर्न लागेको वर्षै बितेको छ। कर्णालीको किनारमा गिट्टी कुटेरै जिवीकोपार्ज गर्दै आएकी धनसरी पनि एकल महिला हुन्। ‘एक्लो ज्यान गिट्टी कुटेरै पालेको छु’, उनले भनिन्। धनसरीको जस्तै ७० वर्षीया रंगा विकको पनि पीडा उस्तै छ। धनसरीको गिट्टीको थुप्रो नजिकै रंगाको पनि ढुंगाको थुप्रो छ। केही वर्षअघि श्रीमान् गुमाएकी रंगाको छोरा–छोरी कोही छैनन्। गाउँमा आम्नादीको अन्य स्रोत नभएका आठवीस नगरपालिका ४ का यी एकल महिलाहरूको अवस्था दयनीय छ । कर्णालीको किनारमा हातमा ठेला उठाउदै ढुंगा कुटेर जीवन गुजारा गरेका यी महिलाहरूको दैनिकी सकसपूर्ण छ।