बेलबारी /सरकारी विद्यालयका शिक्षकहरु आफ्ना छोराछोरीहरुलाई आफैले पढाएको विद्यालयमा पढाउदैनन् अनि सरकारी विद्यालयको गुणस्तरको कसरी विकास हुन्छ भन्ने चौतर्फी प्रश्न यतिखेर उठिरहेकोछ । सामुदायिक विद्यालयको राष्ट्रिय समस्याका रुपमा देखिएको यो प्रश्न चलिरहँदा मोरङको बेलबारी नगरपालिकाका केहि शिक्षकहरुले भने आफैले पढाएको विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन शुरु गरेका छन् । बेलबारी नगरपालिकाको वडा नं. ४ धरहरा स्थित पंचायत आधारभूत विद्यालयका शिक्षकहरुले निजी विद्यालयमा पढ्दै गरेका आफ्ना छोराछोरीहरुलाई बाेर्डिङबाट निकालेर यसै शैक्षिक सत्र देखि आफैले पढाएको विद्यालयमा पढाउन थालेका छन् । विद्यालयको भर्ना अभियानको क्रममा स्थानीय अभिभावकहरुले तपाईहरुको छोराछोरी चाहि बोर्डिङ पढाउने अनि हाम्रा नानीहरु चाहि त्यहाँ पठाउनु पर्ने भन्दै कटाक्ष गरेपछि विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई पनि सरकारीलमा ल्याउन वाध्य भएका हुन् । पंचायतका शिक्षक विष्णु फुँयालले निजी विद्यालयमा पढ्दै गरेका उनका छोरा र छोरी दुवैलाई पहिलो पटक सरकारी विद्यालयमा भर्ना शुरु गरेका थिए । अभिभावकहरुको प्रश्न पनि सही छ , आखिर अरुतिर पनि हामी जस्तै शिक्षकले पढाउने हो किन धेरै खर्च गरेर बोर्डिङ पढाउने खर्चको पनि बचत , हाम्रै नानीहरुलाई पढाएर हेरौं न नतिजा कस्तो हुन्छ शिक्षक फुयाँलले बताए । उनीबाट शुरु गरिएपछि सोही विद्यालयमा अध्यापनरत शिक्षक सन्तोष फुँयालले पनि बोर्डिङ पढ्दै गरेकी दुईजना छोराछोरीलाई आफूले अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । त्यसैगरी आफ्ना नानीलाई बोर्डिङ स्कुलमा पठाउदै गरेका विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले पनि आफ्ना नानीलाई सोही विद्यालयमा भर्ना गरेका छन् । त्यसैगरी सोही विद्यालयमा अध्यापनरत शिक्षिकाद्धय शारदा गिरी र मञ्जु अधिकारीले पनि बोर्डिङमै पढ्दै गरेका आफ्ना नानीहरुलाई आफैले आफैले अध्यापन गरेको विद्यालयमा भर्ना गरेका छन् । विद्यालयका शिक्षक स्वयंम्ले आफ्ना छोराछोरीहरु आफैले पढाएको विद्यालयमा भर्ना गरिएपछि अभिभावकहरुमा सकारात्मक सन्देश प्रवाह भएको व्यबस्थापन समितिका अध्यक्ष देवीप्रसाद गौतमले बताए । विद्यालयका शिक्षकहरुले उनीहरुका छोराछोरीहरुलाई सोही विद्यालयमा भर्ना गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा राखेका छन् । कक्षा ८ सम्म रहेको विद्यालयमा हाल १ सय ७५ जना विद्यार्थी छन् । अहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको शुरु गरिएको छ । शिक्षकहरु विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रयत्नरत छन् ।