शनिश्चरे । बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दै आएको सेतो गुराँसले मोरङको पथरीशनिश्चरे र मिक्लाजुङ क्षेत्रमा बाल विकास केन्द्रको अनुगमन् गरेको छ ।
संस्थाकी कार्यकारी निर्देशक विष्णु खड्का र सुपरभाइजर सीता सिग्देलमार्फत वुधवार पथरी शनिश्चरे ६ को दुर्गा आधारभूत विद्यालयको बाल विकास केन्द्रको अनुगमन् गरिएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालित सो कार्यक्रमको अनुगमन्मा नगर प्रमुख दिलीपकुमार राई, विद्यालय निरीक्षक दुर्गा सिग्देल, स्वास्थ्य संयोजक मुरारी आचार्य, सूचना संयोजक भूपेन्द्र तिम्सिनाको टोली सहभागि रह्यो ।
सो विद्यालयमा अंग्रेजी माध्यमबाट गत वर्षदेखि पठनपाठन थालेपछि विद्यार्थीको संख्या र गुणस्त बढेको अवस्थामा बाल विकास केन्द्रमा पनि त्यसको प्रभाव परेको छ । बालबालिकाको पढाईमा रुची, खोप सहितका विषयमा अध्ययन र अनुगमन् भएको छ । बाल विकास केन्द्रमा २२ जना विद्यार्थी रहेका छन् ।
उता, मिक्लाजुङको भगवती र चन्द्रोदय विद्यालयमा सञ्चालन भएको बालविकास केन्द्रको पनि अवलोकन भएको सेतो गुराँसकी सुपरभाइजर खड्काले जनाइन् । संस्थाले मोरङका साविकका नगरपालिका र गाविसमा गरी २६ ठाउँमा बालबालिकाका लागि भित्ते लेखन, अध्ययन चार्ट, खेल सामग्री प्रदान गर्नुका साथै गर्भाअवस्थादेखि ३ वर्षसम्मको आमाशिशु सुरक्षा सम्वन्धी स्वास्थ्यको जनचेतना कार्यक्रम सञ्चाालन गर्दै आएको छ ।