ताप्लेजुङ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यामिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने जीर्ण बनेको भवनमा डरत्रासका साथ राखेर पढाइने गरेको छ । वर्षा याम सुरु भएसँगै विद्यार्थीहरुलाई सामान्य पानी पर्दा समेत विद्यालय वन्द गर्नुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद कार्कीले वताए । जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गतको भवनसमेत निर्माणाधीन अवस्थामा छ । गत असार मसान्तमै सकिने गरि एक वर्षअघि निर्माण सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सकिएको छैन । चालू आर्थिक वर्षमा गाउँपालिकाले विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर सो रकमले मात्र काम सम्पन्न गर्न नसकिने स्थानीयले बताएका छन् ।