विराटनगर ब्लाष्ट । आफुले आफैलाई गोली हान्न निर्देशन दिने धर्मगुरु आचार्य श्रीनिवास पुर्पक्षको लागि थुनामा गएको २३ दिनपछि धरौटिमा शुक्रबार छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा ५ हजार रुपैयाँ धरौटी बुझाएर धर्मगुरु श्रीनिवास छुटेका हुन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा काठमाण्डौको अन्तराष्ट्रिय विमानस्थलबाट धर्मगुरु पक्राउ गरेका थिए । पक्राउ पछि विराटनगर ल्याएर श्रीनिवासलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो । १६ जेठमा जिल्ला प्रशासन कार्यालय मोरङमा भएको बहसपछि उनलाईमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेशले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए । तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालत मोरङको न्यायधीश नारयणप्रसाद शर्माको आदेशले श्रीनिवास धरौटिमा छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । धर्मगुरुकोतर्पmबाट काठमाण्डौदेखीका कानुन व्यवसायीहरु आएका थिए । जसमा बरिष्ठ अधिवक्ता विजयसिंह सीजपति, वरिष्ठ अधिवक्ता बिपलेन्द्र चक्रवती र अधिवक्ता विजय सिंहले बहस गरेका थिए भने बादीकोतर्फबाट जिल्ला सरकारी वकीलको कार्यालय विराटनगरको सहायक जिल्ला न्यायाधिवक्ता पदम प्रसाद वस्तीले गरेका थिए । गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उनी आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।