मधुमल्ला । मोरङका ३२ जना कथाकारहरुको कथा समेटिएको ‘मोरङ कथा सङ्ग्रह’ को शुक्रबार विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मोरङले प्रकाशन गरेको उक्त कथा सङ्ग्रहको बेलबारीस्थित बेतना सिमसारमा आयोजित एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले विमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख सुवेदीले प्रगतिशील लेखकहरुले कथा लेखेर समाज परिवर्तनको दिशामा राज्यलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले कला, साहित्य, धर्म, संस्कृतिको संरक्षण र विकासका लागि नगरपालिका सहयोग गर्ने बताए ।

कार्यक्रममा पूर्व सांसद तथा स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङले राजनीतिक रुपमा समाज परिवर्तनका ढोका खुलिसकेको बताउँदै अब लेखकहरुले समाजका कुरा उठान गरी विकास र समृद्धिमा सहयोग गर्नुपर्ने धारणा राखे । समृद्ध समाज तथा समृद्ध राष्ट्र निर्माण गर्न साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।

बेलबारी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा कथा सङ्ग्रह माथि मेची क्याम्पस भद्रपुरका प्राध्यापक तथा समालोचक चुडामणि बाशिष्ट र उर्लाबारी बहुमुखी क्याम्पसकी प्राध्यापक भीष्मा रेग्मी भट्टराईले टिप्पणी गरेका थिए । मोरङका ३२ जना प्रगतिशील कथाकारका ३२ वटा कथा समेटिएको उक्त कथा संग्रहमा उर्लाबारीका मिश्र बैजयन्ती, यज्ञ परिश्रमी र विद्या चाम्लिङका कथा समेटिएका छन् । प्रगतिशील लेखक संघकी केन्द्रीय उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष मिश्र बैजयन्तीको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष बलराम पोखरेललगायले समेत मन्तव्य राखेका थिए ।