पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश १ का अधिकांस स्थानीय तहले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले विकासलाई पहिलो शर्तको रूपमा अघि सारेको छ । भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, कृषि, शिक्षा हरेक सरकारको प्राथमिकतामा परेको छ ।

–२ वर्षमा हिलोमुक्त विराटनर बनाउने – दुई वडामा १९ शैयाँको अस्पताल स्तरोन्नति गर्ने

धरान/ विराटनगर, धरान, इटहरी, धनकुटा, पथरीशनिश्चरे, भद्रपुर, विर्तामोड, फिदिमले आइतबार बजेट सार्वजनिक गरेको छ । महानगरदेखि नगरपालिकाले बजेटमा भौतिक पूर्वाधारलाई पहिलो शर्तको रुपमा अघि सारेका हुन् । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद समेटिएका छन् ।

विराटनगरले ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँ बजेट सर्वाजनिक गरेको छ । महानगरपालिकाको मेयर भीम पराजुलीले प्रस्तुत गरेको बजेटमा महानगरको तर्फबाट २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एसियाली बिकास बैंकको ऋण सहयोगमा सञ्चालित दुई परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी माथिको आँकारको बजेट सार्वजनिक गरेका हुन् । बजेट मध्ये नगरपालिका तर्फको चालु खर्चकालागि कुल बजेटको ७.५३ प्रतिशत अर्थत ३३ करोड ६८ लाख ५२ हजार बजेट विनियोजन भएको छ भने सामाजिक सुरक्षा भत्ताकालागि २० करोड विनियोजन भएको छ । त्यस्तै भौतिम पूर्वाधारतर्फ ३ अर्ब २५ करोड ३ लाख ३३ हजार बजेट बिनियोजन भएको छ । वातावरण, सरसफाई, वितिय व्यावस्थापन, सूचना प्रविधि, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ५ करोड ९३ लाख ३० हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकास, महिला तथा बालवालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्छी कार्यक्रमकालागि ६२ करोड ४३ लाख ३४ हजार बजेट विनियोजन भएको छ ।

हिलोमुक्त विराटनगर बनाइने विराटनगर महानगरपाकिाले आर्थिक वर्षको लागि निती तथा कार्यक्रम सँगै बजेट समेत सार्वजानिक गरेको छ । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनर’ नारा दिएर निती तथा कार्यक्रम सुरु गरेको छ । निती तथा कार्यक्रममा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा गरिवी निवारलाई प्रमुख आधार बनाएको कार्यक्रम ल्याएको मेयर पराजुलीले बताए ।

१५ शैयाँको नगर स्तरीय अस्पताल महानगरले सार्वजानिक गरेको निती तथा कार्यक्रममा विराटनगर १५ र १९ नम्बर वडामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई १५ शैयाँको नगरस्तरीय अस्पतालमा स्तरोन्न्ती गर्ने भएको छ ।  धरानले आगामी आर्थिक वर्षका लागि १ अर्व ८० करोडको बजेट प्रस्तुत भएको छ । आगामी आर्थिक बर्षका लागि धरान उप-महानगरपालिकाको दीर्घकालिन सोच अनुरुप पर्यटन विकासकालागि पर्यटकीय स्थालहरुको पूर्वाधार विकास लगायत पर्यटन प्रबद्र्धनका लागि २ करोड ६२ लाख रुपैया प्रस्ताब गरिएको छ । खेलकुदलाई १ करोड २ लाख बजेट प्रस्ताव गरेको छ । विगत वर्षदेखि नै सञ्चालनमा रहेको क्रमागत योजनामा १३ करोड विनियोजन गर्न प्रस्ताब गरेको छ । नगरको गौरवका आयोजनाका लागि ७ करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुखको कोषको लागि यसवर्ष पनि १ करोड विनियोजन गरिएको छ । चालु आर्थिक बर्षको असार मसान्त सम्मका लागि १ अर्व ६२ करोड ६७ बिनियोजन भएको थियो । उप–प्रमुख भण्डारीले कुल १ अर्व ६२ करोड ६७ लाख मध्ये चालुतर्फ विनियोजित रकमको ६८ प्रतिशत र पूँजीगत तर्फ ५३ प्रतिशत खर्च भएको उल्लेख गरिन् ।  नगर सभामा आगामी आर्थिक बर्षमा भौतिक पुर्वाधार तथा सामाजिक बिकासका कार्यक्रमहरुलाई ‘योजना बैक’ मार्फत सञ्चालन गर्ने निती लिएको छ ।बजेटमा नपरेका तर अति आवश्यक भएका योजनाहरु ‘योजना बैक’मा राखेर लगानी खोज्ने र निर्माण गर्ने निती लिइएको धरान उप-महानगरपालिकाका मेयर तारा सुब्बाले बताए ।

इटहरीले एक अर्ब ३७ करोडको १० लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरकी उपप्रमुख तथा योजना छनौट तथा बजेट तर्जुमा समितीकी संयोजक लक्ष्मी गौतमले चालुतर्फ ३९ करोड ६४ लाख १७ हजार ५ सय रुपैया रहेको छ भने पुँजीगततर्फ ६३ करोड ८० लाख ५० हजार ५ सय रुपैया विनियोजन गरेको छ । बित्तिय व्यवस्थामा ३५ लाख रुपैया विनियोजन गरेको छ । अनुमानित बजेटमा प्रदेश तथा संघीय सरकारबाट आउने अनुदान तथा सहयोगको २८ करोड ३१ लाख रहेको छ । नगर क्षेत्रको आधारभुत पूर्वाधार,फोहोर मैला ब्यावस्थापन,आधारभुत पूर्वाधार,शिक्षा स्वास्थय तथा खानेपानीको स्तरउन्नती , कृषियोग्य जमिनलाई ब्यावस्थापन, पशुबथशाला ब्यावस्थापन गर्ने ,पशुपक्षीजन्य उत्पादन तथा बजारी करण गरीने, आधुनिक कृषि बजारलाई प्रथामिकतामा राखेको छ ।  धनकुटाले ५२ करोड, ८९ लाख ४३ हजार बजेट बिनियोजन गरेको छ । चालुतर्फ ३६ करोड, १७ लाख र पूँजीगतमा १६ करोड, ७२ लाख, ४३ हजार बजेट छुट्याएको छ । चालुतर्फ छुट्याईएको रकम कुल बजेटको ६८.३८ प्रतिशत हो भने पूँजीगतमा ३१.६२ प्रतिसत बजेट हो । धनकुटाले प्रशासनिक खर्चमै बढीभन्दा बढी बजेट विनियोजन गरेको छ । भौतिकपुर्वाधारमा नगरस्तरीय २२ वटा र वडास्तरिय १ सय १६ वटा योजना छनौट गरिएको प्रवक्ता जम्सेर छाराहाङ्गले बताए । जसका लागी १० करोड, १० लाख, ६३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक विकास तर्फ कृषि तथा पशु विकास र उधोग र पर्यटनको लागी जम्मा ३७ वटा योजना छनौट गरेको छ । जसमा १ करोड, ४० लाख, ५० हजार वजेट विनियोजन गरेको छ । समाजिक विकासमा ८७ वटा योजनाको लागि २ करोड, १७ लाख, ८० हजार रकम विनियोजन गरिएको छ ।

फिदिम नगरपालिकाका उपमेयर उर्मिला प्रधान श्रेष्ठले ६३ करोड ९० लाख ३४ हजार रुपैँयाँको अनुमानित बजेट सार्वजनिक गरेकी छन् । संघको वित्तिय समानीकरण तर्फ १५ करोड दुई लाख ६५ हजार, प्रदेश वित्तिय सामानीकरण तर्फ ३९ लाख ९३ हजार, बहुक्षेत्रीय पोषणतर्फ १८ लाख ९० हजार रुपैंयाँ रहेको छ । शसर्त अनुदान तर्फ २८ करोड १३ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ८५ लाख ८६ हजार, आन्तरिक आय तर्फ ३ करोड ३० लाख गरी जम्मा ६३ लाख ९० हजार ३४ रुपैंयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो । बजेटमा भौतिक पूर्वाधार बिकासलाई प्राथमिकता दिइएको छ । जसमा ३५ प्रतिशत बजेट बिनियोजन गरिएको छ । सामाजिक क्षेत्रमा ३० प्रतिशत, आर्थिक क्षेत्रमा २० प्रतिशत, संस्थागत बिकासमा १० प्रतिशत र विपद ब्यवस्थापनमा पाँच प्रतिशत रकम बिनियोजन गरिएको छ ।  मोरङको पथरीशनिश्चरे नगरपालिकाले ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको नगरसभाले नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ । सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरिवसंग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित बजेट रहेको छ । सशर्त बाहेकको सबैगरी ३० करोड ९१ लाख ३५ हजार मध्ये ९ करोड २१ लाख २० हजार चालु खर्चमा छुट्याई बाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकासमा वाँडफाँड गरिएको बजेट विवरणमा उल्लेख छ । त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले ८ करोड ५० लाख तथा वाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शिर्षकमा बजेट विनियोजन गरिएको कुरा सभामा पेश भएको छ । बिर्तामोडले ८० करोड १७ लाखको प्रस्ताबित बजेट सार्बजनिक गरेको छ । नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित बिकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको बताए । शिक्षामा गतवर्षको तुलनामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पुर्याइएको छ । कृषिमा ‘नगरप्रमुख बिषादिमुक्त कार्यक्रम’ र सहकारी क्षेत्रको बिकासका लागि ‘स्मार्ट कोअपरेटिभ मार्केट’ निर्माणदेखि ‘झापा कोप स्टान्डर्ड’ लागू गर्ने कार्यक्रम समेटिएका छन् । बजेट पेश गर्दै उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले गतवर्षका योजनाका निरन्तरता र केही नयाँ योजनाका साथ ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गरेी थिइन् ।

भद्रपुर ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख चन्द्रमाय श्रेष्ठले विभिन्न १३ वटा शीर्षकमा बजेट विनियोजन गरिएको बताइन । आन्तरिक श्रोतमा ४ करोड ४२ लाख ५ हजार, राजश्व बाँडफाँडबाट १० करोड ४६ लाख ५७ हजार, प्रदेश सरकार वित्तिय समानिकरणतर्फ ५० लाख र नेपाल सरकार वित्तीय समानीकरण अनुदान १७ करोड ४९ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदानका रुपमा १९ करोड २ लाख रुपैयाँ र प्रदेश सरकार सर्शत योजनागत अनुदान १ करोड उल्लेख गरिएको छ । समाजिक सुरक्षा भत्ता १२ करोड छ । त्यसैगरि सडक बोर्डबाट १ करोड, योजना लागत सहभागितामा ३ करोड ५० लाख,खुल्ला दिसा मुक्त विकास कार्यक्रममा २५ लाख छुट्टयाइएको छ । त्यस्तै चालु आबको बचतबाट १ करोड, जिल्ला समन्वय समितिबाट राजस्व बाँडफाँडबाट १ करोड उल्लेख गरिएको छ ।

सुन्दरहरैंचाले ७९ करोड ११ लाख ६३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । नेपाल सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरकि आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार प्रस्तुत् गरिएको छ । त्यसैगरी राजस्व वाँडफाँडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ । पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लािग ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापन ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरिएको छ । प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवको योजनाहरुमा १ करोड रुपैयाँ विनयोजिन गरिएको छ । नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ बजेट विनायोजन गरेको उपमेयर धना तामाङले प्रस्तुत् गरेकी थिईन् । बजेटमा कृषक तथा उद्यमीलाई शुभल ऋण दिएर जीवन स्तर उकास्ने योजना अगाडि सारेको छ । त्यस्तै लघु उद्यमको विकासको माध्यमबाट गरिबी निवारण गर्न उद्योग वाणिज्य संघ मार्फत संचालित लघु उद्यम संचालनमा ल्याउन जोडदिने योजना प्रस्तु्त गरिएको छ ।

झापाको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले १ अर्ब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरेका छन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७ करोडले कम हो । १० वटा वडा रहेको नगरको समग्र विकासका लागि सबै वडाहरुमा जनसंख्यालाई ५०, क्षेत्रलाई ३५ र गरिबीलाई १५ प्रतिशत अंकभारका आधारमा बजेटको सिलिङ तय गरिएको छ । जस अनुसार वडामा घटीमा ८३ लाख ५३ हजार र बढीमा १ करोड ९१ लाखको बजेट सिलिङ बनेको छ । नगरसभामा विनियोजन ऐनका साथै कर सम्बन्धि विधेयक र सञ्चित कोष विधेयक नगरसभामा पेश भएको छ । त्यस उपर छलफल चलेको छ । नगरसभामा सहभागी सभाषदहरुले बजेटमा कतिपय आवश्यक कार्यक्रम छुटेको भन्दै ती कार्यक्रमहरु समावेश गर्न सभाको ध्यानाकर्षण गराएका थिए । (धरानबाट योगेशबाबु काफ्ले, विराटनगरबाट अनिल श्रेष्ठ, इटहरीबाट धनबहादुर पुरी, धनकुटाबाट सन्तवीर लामा, कोशीहरैचाबाट भक्तशेर लिम्बू, पथरीशनिश्चरेबाट भूपेन्द्र तिम्सिना, विर्तामोडबाट प्रेम आचार्य, भद्रपुरबाट उत्तम नेपाल, फिदिमबाट सन्देश लिम्बू)

दमकको १ अर्ब २२ करोड बढिको बजेट

मोरङ/५ करोडको आन्तरिक आम्दामीको अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि १ अर्व २९ करोडको अनुमानित बजेट पेश भएको थियो । प्रदेश सरकारबाट रकम आउने भन्ने सोचेर वढीको बनाएको तर प्रदेश सरकारबाट रकम आइसक्ने समय नभएकाले प्रदेशको अनुमान गलत सावित भएको थियो ।

राष्ट्रिय योजना आयोग, संघीय अर्थ मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ् र नगरको आन्तरिक आय स्रोतका आधारमा बजेटको सिमा निर्धारण गरिएको प्रमुख ओलीले जनाए ।

नगरसभामा विनियोजन ऐन प्रस्तुत गर्दै उपप्रमुख गीता अधिकारीले कर भुक्तानीलाई प्रोत्साहित गरिने, दर भन्दा यसको दायरा बढाईने, समयमा कर बुझाउनेलाई पुरस्कृत र नबुझाउनेलाई दण्डको व्यवस्था गरिने नीति ल्याइएको जनाइन् ।

नगरपालिकाको बजेटमा बिपन्नता पहिचान कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । जसका लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।

उता, मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि आइतबार नीति, कार्यक्रम तथा वजेट प्रस्तुत हुने भएको छ । शनिबार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगरसभाका लागि विभिन्न नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिको तयारीका सम्वन्धमा छलफल गरेको छ । विहानैदेखि साँझसम्म लगातार बसेको बैठकले नगरस्तरका योजनाहरुको छनौट गरी समग्र नीति, कार्यक्रम र बजेटको प्रारम्भिक खाकामा टुंगो लगाएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नीति, कार्यक्रम तथा बजेट नगरसभामा छलफल भएर पारित हुने प्रावधान छ ।

१० वटा वडा रहेको नगरमा प्रत्येक वडाका लागि ८५ लाख रुपैयाँ बराबरको बजेट तय भई वडा वडामा छलफल भएको छ । भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरण र सुशासनका विषयगत पक्षलाई हेरेर बजेट विनियोजन गर्ने तयारी भइरहेको छ । सशर्त शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान आएको छ । त्यसका साथै स्रोत वाँडफाँड अन्तर्गत ९ करोड २१ लाख २० हजार आउने छ । उता, सशर्तका रुपमा १२ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । निशर्तबाट २५ करोड २ लाख १७ हजार रुपैयाँमा आन्तरिक स्रोतको अनुमानित बजेट थपिएर चालु खर्च र पूँजीगत खर्चको बाँडफाँड हुन्छ ।

धरानको बजेट १ अर्व ८० करोड ‘योजना बैंक’ मार्फत विकास गर्ने निती धरान उपमहानगरपालिकाले भौतिक तथा सामाजिक बिकासका लागि ‘योजना बैक’ मार्फत पुर्वाधार निर्माण तथा सामाजिक विकासका कामहरु गर्ने निती लिएको छ ।आईतबारबाट सुरु भएको तेश्रो  निती तथा कार्यक्रममा नगरको समग्र विकाका लागि बौद्धिक बहस सञ्चालन गर्ने नितीपनि धरानले लिएको छ । धरानको दिर्घकालिन योजना निर्माणमा धरानका बौद्धिक ब्यक्तित्वहरुको समेत सहभागिता रहने गरि बौद्धिक बहस मार्फत योजनाहरु छनौट गर्ने निती धरानले लिएको हो । तेश्रो नगर सभाको अध्यक्षता गर्दै मेयर सुब्बाले कार्यभार सम्हालेको एक बर्षमा उपमहानगरको स्तरबृद्धि,पर्यटन तथा खेलकुदको भौतिक पुर्वधार निर्माणमा सन्तोषजनक उपलब्धि,बिकास निर्माणमा जनस्तरबाट प्राप्त सहयोग र सद्भाब महत्वपुर्ण उपलब्धि हासिल गरेको बताए ।

बसपार्क निर्माण सम्बन्धि बिबाद लगभग समाधान भई सकेको बताउदै मेयर सुब्बाले आगामी आर्थिक बर्षबाट त्यसलाई पनि सुरु गरिने बताए ।धरान खानेपानी आयोजनामा अपेक्षित उपलब्धि हासिल गरेपनि बिजयपुरमा रहेको पञ्चकन्या सब सिस्टममा जर्बजस्त उब्जाइएको बिबादका कारण पुरा हुन नसकेको बताए ।जनस्तरबाट विकासका कार्यहरुमा निरन्तर सहयोग पाईरहेपनि नेतृत्वतहमा रहेका हरुको नकारात्मक सोच स्पस्ट देखिएको पनि उनले बताए । ‘धरानको बिकास गर्ने बिषयमा सहयोग र सुझाब दिने भन्दापनि बिरोधका लागि बिरोध गर्ने मानसिकतापनि हामीमाझ रहेछ’ मेयर सुब्बाले नगरसभामा भने ।

यसैबिचचालु आर्थिक बर्षको आर्थिक प्रगति सार्वजनिक गर्दै सहरी पूर्वाधार निर्माणतर्फ चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा ४.५ किलोमिटर ढल निर्माण भएका र ४.१२ किलोमिटर ढल निर्माणाधिन अवस्थामा रहेको प्रगति बिरबणमा उल्लेख छ । त्यसै गरी ४ सय ४६ मीटर सडक कालोपत्रे सम्पन्न भएका र ६.३ किलोमिटर सडक कालोपत्रे हुने अवस्थामा रहेको उल्लेख छ । सडक तथा ढल निर्माणतर्फ भने २.४३ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको उप प्रमुख भण्डारीले सभामा जानकारी गराइन । चालु आर्थिक बर्षमा ७ सय ९४मिटर आर.सी.सी. सडक निर्माण सम्पन्न भएको तथा १.३ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको विबरणमा उल्लेख छ । त्यसैगरि १.२ किलोमिटर रिटेनिंगवाल निर्माण सम्पन्न भएको र १ सय १३ मिटर वाल निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ

‘खानेपानी आयोजना तर्फ केन्द्रीय प्रणाली अन्तर्गत चारकोसे जंगल क्षेत्रमा निर्माण गरिएको डिप ट्युवेलबाट पिण्डेश्वर तथा सुम्नीमा प्रणालीको ट्यांकीमा पानी पुर्याई वितरणको प्रक्रिया शुरु गरिएको गरिएको छ’ नगरसभामा प्रस्तुत गरिएको चालु आर्थिक बर्षको प्रगति बिबरणमा उल्लेख छ । सतह स्रोतको पानी सुदृढीकरण गर्ने सेडिमेन्टेन्सन, ट्यांकी तथा फिल्टर निर्माण सम्पन्न गरिएको विवरणमा उल्लेख छ । ‘प्रस्तावित पाँच वटा वितरण प्रणाली मध्ये विजयपुर उपप्रणालीको काम हालसम्म स्थगित रहेको तथा अन्य सम्पूर्ण प्रणालीको ९५ प्रतिशत प्रगति हासिल भई वडा नं. १७ मा खानेपानी सेवा शुरु भएको छ ।’ विवरण्मा उल्लेख छ । सभा सोमबार विहान ८ बजे सम्मका लागि स्थगित भएको नगरसभका सचिब तथा धरान उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुमन घिमिरेले जानकारी दिए । भद्रपुरको बजेट ७२ करोड झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि नगरलाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त उल्लेखित कुल बजेट मध्ये चालु खर्च-नेपाल सरकारबाट प्राप्त हुने शसर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रम समेत) गरी ६३ दशमलव ५५ प्रतिशत र पूँजीगत खर्च ३६ दशमलव ४५ प्रतिशत हुने गर विनियोजन गरेको उल्लेख गरिएको छ ।  प्रदेश १ का कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा तथा नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगर कार्यपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत् गरेका थिए।

महानगरको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाडफाड तर्फ ३७ करोड ५ लाख ४ हजार, संघिय र प्रदेश सरकार वितीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघिय सरकार ससर्त अनुदान, बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख र बिषेश र समपुरक अनुदान तर्फ १० करोड, संघिय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख, बैदेशिक तथा अन्य संघ संस्था अनुदान तर्फ ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगरबिकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगर मौज्दजाद ७ करोड गरी २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय आर्जन हुने अनुमान गरिएको छ ।

शहर ब्यवस्थापन, बाढीका कारण समस्यामा परेका जनताको ब्यवस्थापन, खोला नियन्त्रण, सुचना प्रविधि तथा पर्यटनको विकासमा बजेटले जोड दिएको छ ।

महानगरपालिकाले सार्वजानिक गरेको निती तथा कार्यक्रममा दुइ वर्ष भित्रमा विराटनगरको सबै कच्ची सडकमा ग्राभेल गरि महानगरलाई हिलोमुक्त बनाउने योजना अघि सारेको छ । त्यस्तै महानगर क्षेत्रमा ३ वटा अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी निमार्ण गर्ने, शहीद रङशालामा रात्रिकालीन खेलकुद सञ्चालनको लािग फ्लडलाइट जडानको लागि प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ ।

स्थानिय स्तरमै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न महानगरपालिको वडामै नगरस्तरीय अपस्तालको रुपमा स्तरोन्नती गर्न योजना अघि सारेको हो । नगरबासीको लागि निःशुल्क मोतिया बिन्दु रोगको उपचार गर्ने व्यवस्था मिलाएको छ । विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल तथा मेडिकल कलेज बनाउने दीर्घकालीन योजना लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने भएको छ ।