धरान । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सोचेजस्तो नतिजा नआएपछि झापाका दुई छात्राले पर्यटकीय क्षेत्र भेडेटारमा आएर विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

झापा विर्तामोड र बुधबारेकी १७ वर्षीया छात्राद्वयले आइतबार धनकुटाको भेडेटारमा घुम्ने बाहानामा आई विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् । उनीहरुले कुन प्रकारको विष सेवन गरेको भन्ने हालसम्म खुल्न सकेको छैन् । उनीहरु मध्ये एकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिष्ठान प्रहरी पोष्टका अनुसार विष सेवन गर्ने मध्ये एक छात्राको मेडिसिन–२ मा उपचार भइरहेको छ भने एक छात्रालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका लागि रिफर गरिएको छ । विष सेवन गरेको थाहा पाएपछि उनीहरुलाई तत्कालै प्रहरीले उद्दार गरी उपचारको लागि प्रतिष्ठानमा ल्याएको थियो । चिकित्सकका अनुसार उनीहरू खतरामुक्त छन् ।