विराटनगर/ ३८ सय किलो सुन तस्करी र उर्लाबारीको सनम शाक्या हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका प्रहरी अधिकारी सहित पाँच जनाको थुनछेक बहस बिहीबार उच्च अदालत विराटनगरमा हुने भएको छ ।
जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध बुधबारसम्म प्रहरीसहित १६ जना बन्दीले सादा तारिकमा छोडनुपर्ने माग राख्दै अदालती बन्दोबस्तीको १७ नम्बरमा निवेदन दर्ता गराएका थिए । उच्च अदालतमा बुधबारसम्म पाँच जना बन्दीको मात्र जिल्ला अदालत मोरङबाट कैफियत प्रतिवेदन आएकोले उनीहरुको हकमा बिहीबार बहस हुने भएको हो । जसमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल, डियसपी सन्जय बहादुर राउत र व्यापारी हेमन्त गौतमको हकमा थुनछेक बहस हुने उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयणप्रसाद रेग्मीले जानकारी दिए ।
१७ नम्बर गर्ने मध्धे पाँच जना बन्दीको अदालतले दिएको आदेश, अभियुक्तले अदालतमा दिएको बयान, अभियोगपत्र, घटना बिवरण, मुचुल्कामा उल्लेखित भएको मानिस सहितको कैफियत प्रतिवेदन उच्च अदालतमा आइसकेकोले उनीहरुको हकमा बिहीबार दिउँसो १२ बजेपछि बहस हुने रेग्मीले बताए । उनले भने, ‘१७ नम्बरमा निवेदन दर्ता गर्ने अन्यको पनि कैफियत प्रतिवेदन मगाएको छौं । उनीहरुको पनि प्रतिवेदन आएपछि क्रमशक पेशी चढेपछि बहस हुनेछ ।’
उच्च अदालत विराटनगरमा बुधबार तीन जना बन्दीले १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । दोराम खत्री, गोपाल कुमार श्रेष्ठ, माधव भन्ने मदन प्रसाद घिमिरेले गरेका हुन् । यस अघि पूर्व डिआइजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवश लोहनी, एसपी विकासराज खनाल, डियसपी सन्जय कुमार राउत गरेका छन् । त्यस्तै हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ, सम्बीरप्रसाद तोलाङगे, राजन थापा, एलबी मगर, बालकृष्ण श्रेष्ठ, टेकराज मल्ल ठकुरी र प्रजित केसीले १७ नम्बर गरेको उच्च अदालत विराटनगरले जनाएको छ ।
मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने गरेको छ । उच्च अदालतमा पेशी चडेपछि प्रत्येक हप्ताको बिहीबार मात्र बहस हुने गरेको छ । प्रहरीको हकमा हुने बहसको लागि न्याधिशको टुंगो भने बिहीबार मात्र टुंगो लाग्ने बताइएको छ । उच्च अदालतमा हुने बहसको लागि वादीकोतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले गर्ने बताइएको छ । बादी र प्रतिवादीको कानुन व्यवसायीहरुले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मुल्याकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधा तारिक वा धरौटीमा छाडने सक्ने अथवा जिल्ला अदालतले गरेको आदेलाई नै सदर गर्न सक्ने अधिवक्ता विकास थापाले जानकारी दिए ।
मोरङ अदालतका न्यायधीश नारयणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए । पुर्पक्षको लगि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्त मध्धे अहिलेसम्म १६ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।