तरहरा । असार १४ गते । नेपाली काँग्रेसका बरिष्ठ नेता एवम पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली धरासायी बन्ने आशंका बढेर गएको बताएका छन् । नेपाल नाई संघको प्रदेश एक स्तरीय प्रथम भेलाको उद्घाटन गर्दै बरिष्ठ नेता गच्छदारले सरकार स्वेच्छाचारी ढङ्गले काम गर्न थालेकाले गणतन्त्रको भविष्य असुरक्षित बन्दै गएको बताए ।देशको परिस्थिती गम्भिर दिशातर्फ जाँदै गर्दा आम प्रजातन्त्रप्रेमीहरु त्यस तर्फ सचेत हुनुपर्ने समय आएको उनको भनाई थियो । सरकारको गलत कार्यशैलीले देशमा जनताले थेग्नै नसक्ने गरी महंगी बढेको भन्दै नेता गच्छदारले महंगी नियन्त्रणमा सरकार गम्भिर बन्न नसकेको आरोप लगाए । बढ्दो महंगी नियन्त्रणका लागि तत्काल सरकारले पहल गर्न आवश्यक रहेको उनले जनाए ।कार्यक्रममा बोल्दै नेता गच्छदारले सरकारको यस्तै शैली बढ्दै गए नेपाली काँग्रेस चुप लागेर बस्न नसक्ने र कडा कदम चाल्न पनि तयार हुने बताए । संघिय संग्रचनमा गएपछिको नाई संघको पहिलो अधिवेसन आयोजना गरिएको हो । यस अधिवेसनले जातिय उत्थानसँगै व्यवसायीक विकासका लागि नयाँ कार्यक्रम ल्याउने बताइएको छ । अधिवेसनले प्रदेशस्तरीय नयाँ नेतृत्व पनि चयन गर्ने संघका नेता उमेश ठाकुरले जानकारी दिए । अधिवेसनमा सुनसरी जिल्लाबाट ट्रेड युनियन काँग्रेसको उपमहासचिवमा विजयी हुन सफल नेता ज्योति कोईरालाई सम्मान गरिएको थियो । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि विजय कुमार गच्छदारले दोसल्ला ओढाए सम्मान गरेका थिए । अधिवेसनमा पूर्व राज्यमन्त्री सिताराम मेहता,नेपाली काङ्ग्रेसका नेताहरु केदार भण्डारी, हेमकर्ण पौडेल, मजदुर नेता ज्योती कोईराला लगायतले बोलेका थिए ।