पानवारी । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु त्यसपछिको अध्ययनको तयारीमा लागी परिरहेका छन् । एसईई पछिको अध्ययन विद्यार्थीको भविष्यसँग जोडिएको हुन्छ ।
विद्यार्थीले आफ्नो भविष्यको मार्ग चित्रण गर्ने बेला आएको छ । यस्तो बेलामा विद्यार्थीलाई यतिबेला कलेज छान्ने मात्र नभइ कस्तो कलेज छान्ने, साथीभाईको सुझाव कसरी लिने, अभिभावककको चाहाना र आफ्नो लक्ष्य कसरी मिलाउने, खर्चको जोहो अभिभावकले कसरी गर्छन् र करिअर प्रति आफु कसरी अघि बढ्ने भन्ने विषयमा अन्यौताले सताउँछ ।
विषेश गरी ग्रामिण भेगका विद्यार्थीहरुमा बढी अन्यौलता देखिएको छ भने त्यसै अन्यौतामा खेलेर शिक्षाको व्यापार गर्ने कलेजले विद्यार्थीबाट लाभ लिइरहेका छन् । प्रा.डा. भीम खतिवडा भन्छन् –‘भरसक आफुले एसईईसम्म अध्ययन गरेकै विद्यालयमा प्लस टु छ र त्यहा आफुले रोजेको विषय छ भने त्यही पढेको राम्रो हुन्छ ।’ अहिले ग्रेडिङ सिस्टमले गर्दा थोरै विद्यार्थीहरुलाई मात्र धेरै विकल्पमा जानसक्ने ग्रेड आउने भन्दै प्राडा खतिवडाले भने –‘ए र ए प्लस ग्रेड ल्याउने विद्यार्थी जति सबै महानगर र उपमहानगरका कलेजमा नै पढाउनुपर्ने अझ काठमाडौ नै गएर पढ्नुपर्ने भन्ने मानसिकता कलेजका सञ्चालकले बनाइदिएका छन् तर यो गलत हो राम्रो ग्रेड ल्याउने विद्यार्थीले पनि यदि उसको चाहाना गाउँमा नै पढ्ने छ भने गाउँमै पढ्नुपर्छ ।’
अहिले एसईई उत्तीर्ण गर्ने प्रायः विद्यार्थीको उमेर मात्र १६÷१७ वर्षको हुन्छ । साथीभाइको लहै लहैमा लागेर भन्दा पनि आफ्नो रुचिको विषय र आफुले हासिल गरेको ग्रेडको आधारमा विषय छनौट गर्न सुझाव दिन्छन् शिक्षक नवराज राई । उनका अनुसार १६ वर्षको विद्यार्थीले प्सल टुमा पढ्ने विषय छान्नु भनेको चानचुने कुरा होइन किनकी आफ्नो पुरै भविष्यसँग जोडिएको त्यो निर्णयमा अभिभावक र कक्षा ९÷१० अध्यापन गराउने शिक्षकको समेत सुझाव लिन सक्नुपर्छ ।
भर्खरै एसईई उत्तीर्ण भएका धरान–१५ का विद्यार्थी अनिष राई एसईईमा बी ग्रेड आएकोले साइन्स पढ्ने बताउँछन् तर अघिल्लो वर्षका सिनियर साथीहरुले साइन्स पढ्न गाह्रो हुन्छ भन्ने गरेकाले उनलाई कताकता साइन्स नपढौ जस्तो पनि लाग्छ । त्यस्तै धरान–१५ कै सुवास श्रेष्ठ पनि साथीहरुले साइन्स पढ्न भनिरहेकोले उनलाई साइन्स पढ्न एक प्रकारले च्यालेन्ज आएको जस्तो लागेको छ । तर उनलाई होटल म्यानेजमेन्ट सजिलो र चाडै रोजगारी पाइने भएकोले त्यही विषय पढ्ने इच्छा पनि छ ।
शिक्षक नवराज राई भन्छन् –‘११÷१२ पढाउने कलेजहरु अस्वस्थ प्रतिष्पर्धामा देखिन्छन् । उनीहरु विद्यार्थीलाई के विषय पढ्दा कस्तो अवसर आउँछ र कति मेहनत गर्नुपर्छ कति खर्च गर्नुपर्छ भन्ने कुरा छाडेर कसरी विद्यार्थीलाई आफ्नो स्कुलमा भर्ना गर्ने भन्ने तर्फमात्रै केन्द्रित हुँदा पनि समस्या भएको छ ।’ उनका अनुसार बजारमा अहिले प्राविधिक जनशक्तिको माग बढी भएकोले अहिलेको सन्दर्भमा रोजगारमुखि शिक्षाको रुपमा प्राविधिक शिक्षालाई लिन सकिन्छ ।
उनले विद्यार्थीलाई विषय छनौट गर्दा कम्तिमा आफ्नो रुचि भएको, आफ्नो लक्ष्य हाँसिल गर्नसक्ने र सो विषयलाई पुरा गर्न निरन्तरता दिनसक्नेमा विश्वस्त हुने कुरालाई आधार बनाउन सुझाव दिए । विद्यार्थीहरुलाई जबजस्त अभिभावकले कुनै विषय पढ्न दबाब दिदा त्यसले परिणाम राम्रो नआउने बताउँछन् धरानमा विगत १० वर्षदेखि ब्रिजकोर्ष सञ्चालन गर्दै आएका शिक्षक प्रकाश लकान्द्री ।
उनले भने –‘ग्रेडका आधारमा विषय छनौट गर्नु गतल हो, विषय छनौट गर्दा विद्यार्थीको इन्ट्रेष्ट, ब्याकग्राउण्ड र घरको परिस्थिती हेरेर गर्नुपर्छ ।’ एसईईमा राम्रो ग्रेड ए वा ए प्लस ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु पनि प्लस टुमा फेल भएका छन् भन्दै उनले भने –‘अहिले अभिभावकको मानसिकता साइन्स पढाउने र डाक्टर इन्जिनियर बनाउने भन्ने छ, त्यो यदि आफ्नो छोराछोरीसँग मेल खाएन भने घातक हुनसक्छ ।’ कमर्श, आर्टस् एजुकेशन पढेर पनि समाजमा ठूलो छाप छोडेका र देशलाई ठूलो योगदान दिएका व्यक्तिहरु धेरै भएकोले पढाईमा यो ठूलो र यो सानो नहुने उनी दाबी गर्छन् ।
कुन विषयमा के छ अवसर ?
हुन त आज भोली विभिन्न विषयहरु आइरहेका छन् । एक दशक अघि प्रायः सबैले एसएलसी पछि आईए पढ्ने गर्दथे । तर अहिले विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा संकायका साथसाथै प्राविधिक विषय जस्तै– सिटिइभिटि अन्तर्गतका कोर्षहरु, सङ्गीत शिक्षा आदिमा विद्यार्थीको रुचि बढेको छ ।
विज्ञानमै पनि धेरै हाँगा फैलिसकेका छन् । प्लस टु विज्ञान पढीसकेपछि धेरै फिल्डमा जान सकिन्छ । इन्जिनियरिङ्ग, चिकित्सा विज्ञान, पाइलट, कम्प्युटर साइन्स लगायतका क्षेत्रका साथसाथै अन्य संकायमा पनि जान सकिन्छ । शिक्षण गर्नसक्ने आधार पनि विज्ञानले प्रदान गर्छ । अहिले व्यवस्थापन संकायमा पनि निकै विद्यार्थीको चाप रहने गरेको छ । तर एक दशक अघि भने व्यवस्थापन विषय सीमित वर्गका मानिसले मात्र पढ्ने गर्थे । व्यवस्थापन किन पढ्ने भनेर खासै सूचित थिएनन् विद्यार्थीहरु । अहिले व्यवस्थापनमा होटेल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल्स एण्ड टुरिजम्, हस्पिटालिटी म्यानेजमेन्ट, फाइनान्स आदि जस्ता विषय रहेका छन् ।
मानविकि संकायमा थोरै लगानी गरेर निकै नाम अनि दाम कमाउन सकिने यो संकायमा पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, साहित्य, राजनीतिशास्त्र, ईतिहाँस आदि पढ्न सकिन्छ । गैसस, लोकसेवा, राजनीति, समाजसेवा लगायतका क्षेत्रमा मानविकि पढ्नेलाई जान सहज हुन्छ । यस्तै शिक्षण प्रति रुचि हुनेहरुका लागी शिक्षा संकाय रहेको छ । लाईसेन्स सहितको शिक्षक हुनलाई शिक्षा संकाय पढ्न जरुरी हुन्छ ।
कुन विषय पढ्न कति जिपिए आवश्यक ?
- विज्ञान संकाय अध्ययन गर्न २.० जीपीए साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।
- व्यवस्थापन संकाय अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।
- मानविकी, शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक ।
- इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी प्लस ल्याउनु पर्ने ।
- कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।