काठमाडौं/ चिकित्सा शिक्षा सुधारका लागि १५ औँ पटक अनसन बस्न जुम्ला पुगेका प्रा.डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तयारी गरिरहेका डा. केसीलाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको हो । केसीलाई पक्राउ गरेपछि खलंगाका स्थानीय बासिन्दाले सडकमा उत्रिएर विरोध गरेका छन् ।
अहिले डा. केसीलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ । सँगै रहेका डा. केसीका भतिजा किशोर केसीका अनुसार डा. केसी अहिले जिल्ला प्रहरी कार्यालयमा नै अनसन बस्ने तयारी गरिरहेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गर्दै डा. केसी अनसन बस्ने भनिएको प्रतिष्ठानलाई शुक्रबार निषेधित क्षेत्र घोषणा गरेको थियो । जिप्रका जुम्लाले शुक्रबार प्रतिष्ठान परिषर र त्यस वरपरको २ सय मिटर, जिल्ला प्रशासन परिषरको २ सय मिटर र जिल्ला प्रहरीको २ सय मिटर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।