बिर्तामोड/ एसइई उत्तिर्ण विद्यार्थीको पहिलो रोजाई बिदेश अध्ययन रहेको छ । झापामा अध्ययन गरेर उत्कृष्ठ नम्बर ल्याएर एसइई उत्तिर्ण गरेका विद्यार्थीहरुको पहिलो गन्तब्य अष्ट्रेलिया रहेको पाइएको हो ।  ‘प्लस २ मा साइन्स पढ्छु, त्यसपछिको अध्ययन अष्ट्रेलियामा गर्ने योजना बनाएको छु झापाको अर्जुनधारा ८ का विद्यार्थी आकृति तिम्सिनाले भनिन्–‘त्यहाँ अध्ययनसँगै रोजगारको अवसर हुने भएकाले मैले दुइ वर्षपछि अष्ट्रेलिया जाने सोच राखेको हो ।’ एसइईमा ए प्लस ल्याएकी उनले बिर्तामोडमा साइन्स पढ्ने योजना बनाएकी छन् । उनले दुइ वर्षपछिको अष्ट्रेलिया अध्यननको लागि घरका सदस्यलाई कन्भिन्स गरिसकेकी छिन् ।

कक्षा १२ पछिको शिक्षा अष्ट्रेलियामै लिने झापाकै प्रसन लामिछानेको पनि उत्कट चाहना छ । भविष्यमा सिभिल इञ्जिनियर बन्ने सपना साँचेका प्रसनको अहिलेको रोजाई भने साइन्स हो । सानैदेखि घर–नक्सा बनाउने रहर भएकै कारण साइन्स नै रोजेको हुँ, लामिछानेले भने, ‘मार्कका आधारमा साइन्स रोजेको हुँ, भविष्यमा इञ्जिनियर बन्ने लक्ष्य छ ।’ नेपालमा नेपालमा गुणस्तरिय शिक्षा दिने राम्रो ठाउँ नै नभएको बताउदै लामिछानेले भने, ‘कक्षा १२ सकेर हाइ क्वालिटीको टेक्निकल एजुकेशनका लागि अष्ट्रेलियाको सोचमा छु ।’ गुणस्तरिय शिक्षाका लागि विदेश गएपनि काम भने नेपालमै गर्ने उनको अठोट छ । पढाई पूरा गर्न विदेशमा काम गर्नु परेपनि पेशागत रुपमा भने नेपालमै फर्कने दृढ इच्छाशक्ति बोकेका लामिछानेले थपे, ‘क्वालिफाइड र स्किलवाला टिचरहरु पनि थप अध्ययन र कामका लागि विदेश नै गइरहनु भएको छ, नेपालमा काम पाउने संभावना कम भएपनि स्वदेशमै काम गर्ने इच्छा हो, गरेपछि प्रभाव होला ।’ विर्तामोडस्थित इडन गार्डेन बोर्डिङ इङ्लिस स्कूलबाट एसईई मा उनले ए ल्याएका छन् ।

अधिकांस उत्कृष्ठ बिद्यार्थीले उच्च शिक्षा अध्ययनको लागि किन बिदेश रोज्छन् ? शिक्षाबिद तथा बिर्तामोडको गोमेन्द्र कलेजका प्राचार्य रुपक खनालले अध्ययनसँगै अवसरको कारणले बिद्यार्थीमा बिदेशजाने आकर्षण बढेको बताउँछन् । उनले कक्षा १२ सकेपछि ४० प्रतिशत विद्यार्थीले पढाई छोड्ने गरेको जानकारी दिए । ‘एसइई पछि बायोलोजी लिएर साइन्स, कम्प्युटर साइन्स र कमर्श पढ्नका लागि विद्यार्थीको आकर्षण बढेको बताउँदै उनले त्यो फ्याकल्टी अध्ययन गर्ने विद्यार्थीले अवसर पाउँने बताए । अहिले मानविकी र शिक्षा संकायमा विद्यार्थी संख्या घट्दै गएको अनुभव उनले सुनाए ।

‘उत्कृष्ठ विद्यार्थीले शिक्षा संकाय अध्ययन गर्नुपर्ने हो, खनालले भने–‘भविष्य निर्माण गर्ने विद्यार्थी उत्पादन गर्ने क्षेत्रमा सबैभन्दा कमजोर विद्यार्थी आउनु सकारात्मक नभएको भनाई उनको छ । ‘साइन्स पढ्नेले संकाय परिवर्तन गर्न पनि पाउँछन् , त्यसकारण साइन्समा विद्यार्थीको आकर्षण देखिएको छ, खनालले भने–‘तर धेरै विद्यार्थी नेपालमा भन्दा बिदेशमा गएर मात्र भविष्य सुरक्षित देख्ने अवस्थामा पुगेका छन् ।’ ‘पाठ्यक्रम फेरिंदै छ, कक्षा १२ र उच्च शिक्षालाई जोड्ने खालको पाठ्यक्रम निर्माण भएन भने बिदेशीनेको संख्यामा बृद्धि त हुन्छ नै झन् बढी विद्यार्थीले पढाइ छोड्ने सम्भावना हुन्छ, खनालले भने–‘व्यवहारिक र प्राविधिक शिक्षा समेट्ने पाठ्यक्रम अहिलेको आवश्यकता हो ।’ १२ कक्षा र उच्च शिक्षालाई जोड्ने पुलको काम गर्नुपर्ने पाठ्यक्रम निर्माण गर्नुपर्ने उनले बताए ।