पाँचथर । जिल्लाको धार्मिक पर्यटकीयस्थल लब्रेकुटि–सिलौटि क्षेत्रको पर्यटन प्रबद्र्धन र चौतर्फि बिकासका लागि ‘लब्रेकुटि–सिलौटि पर्यटन क्षेत्र बिकास समिति’ गठन भएको छ । सो क्षेत्रको बिकासका लागि क्रियाशील सम्पूर्ण संघ–संस्थाहरुको प्रतिनिधित्व हुने गरी साझा संस्थाको रुपमा समिति गठन भएको हो । समितिको अध्यक्षमा सञ्चारकर्मी बिजयबोध लाओती सर्बसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष सागर नेम्बाङ, कमलराज नेम्बाङ, महासचिव सुवाश तुम्बापो, सचिव गोपाल राई, भीमाहाङ सुब्बा र कोषाध्यक्षमा शान्तिला तुम्बापो चयन भएका छन् । समिति २३ सदस्यीय रहेको छ । लब्रेकुटि–सिलौटि क्षेत्रको बिकासका लागि क्रियाशील संघ–संस्थाका प्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा उक्त समिति गठन गरिएको हो ।

सोही भेलाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद अइन्द्रसुन्दर नेम्बाङको संयोजकत्वमा २२ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिले सो क्षेत्रलाई प्रदेश–१ कै आकर्षक धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न केन्द्र, प्रदेश र स्थानीय सरकार सँग समन्वय र पहल कदमी गर्ने अध्यक्ष लाओतीले बताए ।

लब्रेकुटि–सिलौटि दुई छट्टाछुट्टै सुन्दर टापुहरु हुन् । फिदिम नपा–५, मा रहेको लब्रेकुटि १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको पवित्र स्थलको रुपमा चर्चित छ भने फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको संगममा रहेको सिलौटिमा उनै महागुरु फाल्गुनन्दको समाधिस्थल रहेको छ । वनभोजस्थल र घुमघामका लागि जिल्लाकै अब्बल गन्तव्य मानिने यी स्थलहरु झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने मेची राजमार्गदेखि नजिकैको दुरीमा रहेका छन् । लब्रेकुटि र सिलौटि धार्मिक पर्यटकीयस्थल सँगै दृष्यावलोकन र जैबिक, वनस्पतिक बिबिधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छन् ।