पर्वत । मुस्ताङकाे स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा मृत्यू हुनेकाे संख्या २० पुगेकाे छ । मृत्यू हुने २० जनाको शवलार्इ पोखरा ल्यार्इएकाे छ । २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाका १२ घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १२ जना घाइतेको अवस्था सामान्य रहेको जानकारी दिदै, नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको बताए ।
दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी – जोमसोम – कोरला सडक खण्डको दामोदर कुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो । रासस