ताप्लेजुङ । ताप्लेजुङमा सिकाइ उपलब्धि प्रबर्द्धनमा उत्कृष्ट विद्यालय तथा शिक्षकलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले पुरस्कृत गरेको छ । रिड नेपालले कार्यक्रम सञ्चालन गर्दै आएको क्षेत्रका विद्यालय तथा त्यहाँ कार्यरत शिक्षकलाई पुरस्कृत गरेको हो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोकमा एक कार्यक्रमको आयोजना गरी रिड नेपालले फक्ताङलुङ गाउँपालिकाका कञ्चनजंघा माध्यमीक विद्यालयका शिक्षक ईन्द्रबहादुर राई, चन्द्रोद्धय आधारभूत विद्यालयका शिक्षक कल्पना लिम्बू, रानी आधारभूत विद्यालयका शिक्षक डिल्लीराम बर्देवालाई स्टार टिचर अर्वाड  अन्तर्गत पाँच हजार र प्रमाण पत्र सहित सम्मान गरीएको छ ।

यस्तै घुन्सा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष हिमाली चुङ्दा शेर्पा, कञ्चनजंघा माध्यमीक विद्यालयका विद्यालय व्यवस्थापन समितका सदस्य दिपा राईलाई स्टार एसएमसि र पिटीए अर्वार्ड अन्तर्गत नगद पाँच हजार र प्रमाण पत्र सहित सम्मान गरियो । स्टार स्कुल अवार्ड अन्तर्गत पार्वती आधारभुत विद्यालय तापेथोक र घुन्सा आधारभूत विद्यालयलाई २५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरीएको छ । यस्तै वेस्ट प्रर्फमीङ सेकेन्डरी स्कुल अवार्ड अन्तर्गत सुनदेवी आधारभूत विद्यालयलाई ४० हजार नगद र प्रमाण पत्र सहित सम्मान गरीएको छ भने वेस्ट पर्फमिङ स्कुल अवार्ड रानी आधारभुत विद्यालय ईखाबुलाई ५० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरीएको छ ।

कार्यक्रमा गाउँपालिकाकाअध्यक्ष सरोज एभेङ, प्रमुख प्रशासकिय अधिकृत सन्दीप राना, रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्त, पत्रकार महासंघ ताप्लेजुङकाअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सो गाउँपालिकाका अध्यक्ष सरोज एभेङले गाउँपालिकामा भएको प्राथमिक तहमा विद्यालयहरुको गुणस्तर बृद्धि गर्न नयाँ नियम बनाउने बताए । प्राथमिक तहका विद्यार्थीको मनोविज्ञान अनुसार शिक्षाको गुणस्तरमा बृद्धी गर्न सके उद्धेश्य अनुरुप शैक्षिक उपलब्धि हुने उनको भनाई थियो ।

गाउँपालिका भौगोलिक आधारमा सदरमकामबाट टाढा र विकट भएकाले सो नियम बनाउन समस्या हुने भए पनि गाउँपालिकाले सो नियम बनाउने र शैक्षिक गुणस्तर बृद्धि गर्ने उनले प्रतिबद्धता जनाए ।