काठमाडाैं / नारीको अस्मिता मिचिएको र कानुनको धज्जी उडाएको भन्दै कांग्रेसका महिला  सांसदहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलार्इ कानुनी कारबाही गर्न माग गरेका छन् । सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माफी मागेर मात्रै नहुने भन्दै मन्त्री तामाङलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन् । केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले मन्त्री तामाङलार्इ कानुनी कारबाही गर्नुपर्ने बताइन् । सांसद लक्ष्मी परियार र विजया श्रेष्ठले सरकारले कानुनबमोजिम कानुनमन्त्री र दुर्गा प्रसाईंलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनीसमेत दिए । प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानुन मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका थिए ।