काठमाडौँ (रासस)- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले साेमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ कांग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए ।
उनले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिए । पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए ।