भद्रपुर/ झापामा राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको छ । गत आब ०७३।७४ भन्दा आर्थिक बर्ष ०७४।७५ मा राहदानी बनाउनेको सङ्ख्यामा एक हजार २ सय ७१ ले कमी आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
सेवाग्राहीलाई मध्यनजर गरी दमक र गौरीगञ्जमा समेत इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । तीनवटै कार्यालयले दिएको जानकारी अनुसार ०७३।७४मा २० हजार १ सय ५६ र ०७४।७५ मा १८ हजार ८ सय ८५ जनालाई राहदानीको सिफारिस गरिएको फाँटका प्रशासकिय अधिकृत दिननाथ लम्सालले जानकारी दिए । जसमा दमकबाट ८ हजार ३ सय ९ र गौरीगञ्जबाट ३ हजार १ सय २९ जनालाई राहदानी सिफारिस गरिएको प्रशासकिय अधिकृत लम्सालले बताए । यो तथ्याङकमा झापाबाट सिफारिस लिएर काठमाण्डौ जाने दु्रतसेवाको भने यसमा समावेश नगरिएको उनको भनाई छ ।
हस्तलिखित राहदानी भएका कारण विगतमा बढ्ने गरको उल्लेख गर्दै सन् २०१५बाट यो प्रणाली बन्द भएपछि विस्तारै कमी हुदै आएको उनले बताए । जनसङ्ख्यामा घट्दो दरले पनि यस्तो देखिएको वैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको सामी परियोजना झापाका संयोजक हरीप्रसाद मैनालीले बताए । हस्त लिखित बन्द भैसकेपछि यसको प्रभाव परेको उनको भनाई छ ।
त्यसैगरी यो बर्ष जिल्ला प्रशासनबाट ३८ हजार ५ सय ८२ जनाले नागरिक्ता पाएका छन् । जसअनुसार वंशजको आधारमा २६ हजार ८ सय ९४ , वैवाहिक अङ्गिकृतमा ४ सय ७८ र प्रतिलिपी ११ हजार २ सय १०वटा नागरिक्ता जारी गरेको कार्यालयले जनाएको छ । त्यस्तै नाबालक परिचय पत्र वितरण तर्फ ५ सय ९ वटा दर्ता गरेको छ । कार्यालयले ४ सय ७३ वटा सङघसंस्था समेत दर्ता गरेको छ । संस्था दर्तामा गौरीगञ्जले भने अनुमति नपाएकाले शून्य रहेको इलाका प्रशासन अधिकृत यज्ञ आचार्यले बताए ।
त्यसैगरी गत आर्थिक बर्षको अन्त्यसम्ममा ३ सय ६२ वटा विभिन्न प्रकारका मुद्दा फर्छौट गरेको छ । मुद्दा फाँटले दिएको जानकारी अनुसार ३ सय ५८वटा सार्वजानिक,खाद्य न्यूनिकरणमा ३ र हातहतियार सम्बन्धि २ वटा मुद्दा छिनोफानो गरिएको राजेन्द्र भट्टराइले बताए । कार्यालयमा ९ सय ५२ वटा मुद्दा दर्ता भएकोमा केही सार्वजानिकमा ५सय ८३, खाद्यमा ३ ,हातहतियारमा २ र पशुक्वारेन्टाइनमा १ गरी ५ सय ८९ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको भट्टराइले जानकारी दिए । बाँकी चालु आर्थिक वर्षमा सरेर आएको उनको भनाई छ ।