काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर ६ मिनेटमा अन्त्य हुने उनले बताए । कुल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । यो शताब्दीको सबैभन्दा लामो ग्रहण लाग्ने भएको हो । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघिदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रङमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ ।