गोठगाउँ (मोरङ)/ मोरङको सुन्दरहरैचामा रहेको पूर्वाअञ्चल विश्वविद्यालय संरक्षणको अभावमा बेहाल बन्न पुगेको छ । सरकारले दुई दशकअघि गोठगाउँस्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन र करोडौं लागतमा निर्मित भौतिक पूर्वाधारहरु लथालिङ्ग अवस्थामा छन् । मर्मत अभावमा आकर्षक भवनहरुको बेहाल हुन पुगेको छ । भवनहरु घाँसले घेरिएका छन् ।

विश्वविद्यालयभित्रका करोडौं लागतका निर्मित भवनहरु अहिले जङ्गलभित्रको भूतघर जस्तै देखिन थालेको छ । अत्याधुनिक र आकर्षक भवनहरु घाँस र जङ्गलले घेरिरहेको कारण समस्या आएको छ । अधिकांश भवनहरु चर्किएका मात्र छैनन्, माकुराको जालोले गाँजिएका पनि छन् । इटहरीबाट विश्वविद्यालयमा पुगेका खेम कोइरालाले विश्वविद्यालय लथालिङ्ग अवस्थामा रहेको जनाए । ‘विश्वविद्यालयकाे हालत बेहाल रहेछ’ –उनले भने । उनले भने विश्वविद्यालयभित्र गाईवस्तु चरन क्षेत्र बनेको रहेछ ।  मेडिकल क्याम्पसकी क्याम्पस प्रमुख कविता अधिकारीले सिस्टम नहुँदा समस्या भएकाे स्विकार गरिन् । पछिल्ला केही वर्षयता विश्वविद्यालयभित्र घाँस पलाएको बताइन् । ‘विश्वविद्यालयका वालहरु भत्किएको कारण स्थानीयले पालेका गाई, बाख्राहरु चरनमा आउने गरेका छन्’–उनले भनिन् । धेरै जमिन भएको कारण संरक्षण गर्न समस्या भइरहेको उनी बताउँछिन् । विश्वविद्यालयमा बिएस्सी नर्सिङ र बिएन कार्यक्रममा थप सुधार गरेर पोष्ट ग्राजुएट शैक्षिक कार्यक्रम एमपीएच एम फर्मासम्मको कक्षा प्रारम्भ गर्दै आएको उनी बताउँछिन ।

विश्वविद्यालयमा भित्र समस्या धेरै भए पनि सुधारोन्मुख रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन सिद्धार्थ कोइरालाले बताए । ‘अहिले अधिकांश भवनहरु भूकम्पका कारण जीर्ण बन्दै गएको स्वीकार गर्दै कोइरालाले भने भवन मर्मत गर्ने खर्च अभावकै कारण समस्या भइरहेको छ’–उनले भने । धेरै जग्गा र भवन भएको कारण संरक्षणमा समस्या भइरहेको उनी बताउँछन् । ‘दुईजना कुचीकार मात्र भएको कारण समस्या भइरहेको छ’ –उनले भने । कुचीकारको अभावले सरसफाइमा समस्या भइरहेको उनको स्वीकारोक्ति छ ।

नामै मात्रको टिचिङ अस्पताल विश्वविद्यालयभित्र रहेको टिचिङ अस्पतालको हालत पनि बेहाल हुँदै गएको छ । यहाँ उपचार गर्न आउने अधिकांश सर्वसाधारणले सेवा सुविधा नपाएको गुनासो गरेका छन् । बिरामी उपचार गर्नेसहितको सुविधा दिने भनिए पनि टिचिङ हस्पिटल नामै मात्रको हुन पुगेको छ । बिरामीहरुले अस्पतालभित्र औषधि किन्नसम्म नपाएको गुनासो गरेका छन् । अस्पतालभित्र सरकारी लगानी करोडौं गरे पनि जनताले सुविधा भने पाएका छैनन् । ‘आकस्मिक कक्षमा समेत डाक्टर भेटिँदैनन्’ –दुलारी–९ का अजयकुमार मेहताले भने । आमाको राजकुमारीको उपचारको लागि बेडमा भेटिएका उनले भने, ‘इमरजेन्सी भनेको छ डाक्टरलाई फोन गरेर बोलाउनु पर्छ ।’ अस्पतालमा डाक्टर प्रायः नभेटिने उनी बताउँछन् । ‘नर्सहरु मात्र हुन्छन् औषधि पनि भेटिँदैन’ –दुःखेसो पोख्दै उनले भने । निमोनियाको औषधिसमेत नभेटिएपछि बेलबारीबाट ल्याएको उनको भनाइ थियो ।

दिनमा कहिलेकाहीँ स्थानीयहरु आक्कल झुक्कल आउने गरेका छन् । श्रीमती कल्पना माझीको उपचार गराउन आएका पुष्प माझीले हस्पिटलको बेहाल सुनाए । ‘खै, बिरामी हेर्ने पनि आउँदैनन्, बिहानै बिरामी लिएर आएको बल्ल–बल्ल एकपटक आए’ –उनले दुःखेसो गर्दै भने । अस्पतालमा आवश्यक भौतिक संरचनासमेत छैन । आइतबार अस्पतालमा २ जना मात्र बिरामी भेटिए । अस्पताल प्रशासनका निबन्ध कोइरालाले दिनमा दुईदर्जन जति बिरामी आउने गरेको सुनाए । उनले अस्पताललाई बचाउँदै भने, ‘व्यवस्थापन राम्रो छ ।’