नेपाली समाज सहकारी संस्कृतिमा धनी छ । सहकारी सामाजिक जीवन पद्धतिका पक्षमा परापूर्वदेखि नै अस्तित्वमा रहँदै आए पनि २०१० सालमा सहकारी विभागको स्थापना भएपछि मात्र राज्यको औपचारिक कार्यसूचीमा प¥यो । पहिलो पञ्चवर्षीय योजनामा सहकारीलाई श्रमिक तथा कृषकमाथिको ऋणभार घटाउने र लोकतान्त्रिक ढङ्गले आपसी सहयोग विकास गर्न सघाउने संयन्त्रका रूपमा घोषणा गरिएको थियो । अहिले सहकारीले विस्तारको चरण पार गरेको छ र केही असल अभ्यासमार्फत् आर्थिक विकास र सामाजिक परिवर्तनका लागि परिचालित छ । सहकारी अभियानलाई विशिष्ट, कार्यमुखी र गतिशील बनाउन सहकारी ऐन २०७४ कार्यान्वयनमा छ । समान स्वामित्व, फाइदा र जोखिमका कारण सहकारीका सदस्यहरू विश्वासको ऊर्जामा गतिशील देखिन्छन् । सामाजिक, आर्थिक र मानवीय तीनै प्रकारको पूँजी निर्माणको कार्य सहकारीले गर्नसक्ने भएकोले यो गरिबी निवारणको माध्यम र आर्थिक समृद्धिको आधार हो । आर्थिक प्रतिफल र बजारको सीमितताका कारण निजी क्षेत्र लगानी गर्न नगएको वा नचाहेको ग्रामीणक्षेत्रमा सहकारी नै समुदायस्तरको उत्पादन सङ्गठन र रोजगारी सिर्जनाको माध्यम हो । यसले स्थानीय सम्भावना र ग्रामीण समुदायको सीप एवम् स–सानो पूँजीलाई उत्पादन प्रक्रियामा उन्नयन गरी उपयोगिता सिर्जना गर्छ । ग्रामीणक्षेत्रमा कृषि सहकारीहरूमार्फत् कृषि पसलको उत्पादन तथा उत्पादकत्व बढाउने, प्रशोधन, सञ्चय–भण्डारण गर्ने र बजारीकरणका माध्यमबाट आयस्तर बढाउन सहकारी माध्यम बन्न सक्छ । बिचौलियाले उत्पादन–उपभोक्ता सम्बन्धलाई अवरोध गरी दुवैतर्फ ठगिरहेको अवस्थामा सहकारी बजार सम्बन्धको सेतु बन्न सक्छ । गरिबमुखी आर्थिक वृद्धिका लागि सहकारी एउटा सशक्त अभियान हो । आर्थिक वृद्धिका लागि स्वयम् गरिब परिचालन र प्राप्त प्रतिफलको समन्यायिक वितरण सहकारी क्रियाकलापमा देख्न सकिन्छ । शहर अवसरको केन्द्र हो भने गाउँ सम्भावनाको स्थल । गाउँले उत्पादन गरेका वस्तुहरू शहरले उपभोग गर्छ । सहकारीमार्फत् गाउँ–शहर अन्तरसम्बन्ध बलियो बनाउन सकिन्छ । उदाहरणका लागि दुग्ध सहकारीलाई लिन सकिन्छ । गाउँमा उत्पादित दूध र दुग्धपदार्थ सहकारीमार्फत् शहर पुग्छ भने कृषकले आफ्नो उत्पादनको मूल्य पाउन सक्छन् । तरकारी, माछा, मासु, फलफूलका क्षेत्रमा कार्य गर्ने सहकारी गाउँ शहर आबद्धताका बलिया सूत्र हुन सक्छन् । त्यसकारण सहकारीहरुभित्रका केही व्यवधान र विकृतिहरुलाई हटाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि सहकारीलाई सहकार्यकै माध्यमबाट परिचालन गर्नसके नागरिकको आर्थिक विकासको ठूलो माध्यम हुने निश्चित छ ।