विराटनगर/सामान्यतया जिल्ला अदालत मोरङमा दैनिक सरदर १८ देखि २० वटासम्म मुद्दा दर्ता हुँदै आएको थियो । तर, बुधबार भने जिल्ला अदालत मोरङमा सोचेभन्दा बढी मुद्दा दर्ता भएको छ । एकैदिन विभिन्न प्रकृतिका ३८ वटा मुद्दा मोरङ अदालतमा दर्ता भएको स्रेस्तेदार नवराज दुलाले जानकारी दिए ।
मोरङ अदालतको पहिलो पटक विभिन्न प्रकृतिका मुद्दाहरु यति ठूलो संख्यामा एकैदिन दर्ता भएर नयाँ रेकर्ड राखेको छ । श्रेस्तेदार दुलालका अनुसार अंश, सम्बन्ध विच्छेद, लिखत बदर, लेनदेन, कुटपिट, कर्तव्य ज्यानलगायतका मुद्दाहरु बुधबार दर्ता भएका छन् । यसअघि एक दिनमा १२ देखि १८ वटासम्म विभिन्न प्रवृत्तिका मुद्दाहरु दर्ता हुँदै आएको थियो । बुधबार भने यति धेरै संख्यामा मुद्दा दर्ता भएर नयाँ रेकर्ड राखेको उनले बताए । ‘भदौ १ अर्थात् शुक्रबारबाट नयाँ मुलुकी फौजदारी अपराध संहिता र देवानी अपराध संहिता लागू भएको छ’ उनले भने, ‘नयाँ कानून लागू हुने कुराले समेत मुद्दा दर्ता एकैदिन बढेको हुनसक्छ ।’ कानुनका बारेमा जनता अनभिज्ञ हुँदा पनि अदालतमा दर्ता हुने मुद्दाको चाप बढेर गएको हुनसक्ने उनले बताए । कानुन व्यवसायीहरुले पनि नयाँ कानुनका प्रावधानले केही जटिलताहरु निम्त्याउन सक्ने भन्दै मुद्दा दर्ता गर्न हतारिनेको संख्या बढेको बताए ।
कानुन व्यवसायी अधिवक्ता जगत थापाले भदौ १ बाट नयाँ कानून लागू भए पनि पुरानो मुद्दा र पुरानो हदम्यादले भेट्ने भएका कारण नयाँ कानून लागू नभइकनै मुद्दा दर्ता गर्नेको संख्या बढेको बताए । नयाँ कानूनका बारेमा कुनै पनि अभ्यास नभएका कारण पुरानै कानूनलाई आधार मान्दै धेरै मुद्दा दर्ता हुने क्रम बढेको उनले बताए । उनले नयाँ कानूनले कस्तो खालको अभ्यास ल्याउँछ भन्ने कुरामै अन्योलता रहेको बताए । नयाँ ऐन तथा कानूनका बारेमा सर्वसाधारणलाई धेरै जानकारी नहुनुले यस्तो समस्या सिर्जना गरेको कानून व्यवसायीहरुको बुझाइ छ । जिल्ला अदालत मोरङमा साउन ३० गते अर्थात् बुधबारसम्ममा पाँच सय २४ वटा मुद्दा दर्ता भएका छन् । श्रेस्तेदार दुलालका अनुसार दर्ता भएकामा दुईसय ७८ देवानी, एक सय ८३ दुनियावादी फौजदारी र ६२ वटा सरकारवादी फौजदारी मुद्दाहरु छन् । साउनमा मोरङ अदालतमा एउटा बन्दी प्रत्यक्षीकरण रिट पनि परेको थियो ।