भद्रपुर/ भद्रपुर नगरपालिकाका वडाध्यक्षहरूले जनताको चाहाना अनुरुप काम गर्न नसकिएको बताएका छन् ।

वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा नगरको काम गराइका कारण जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको बताएका हुन् । शुक्रबार नगरले आर्थिक वर्ष २०७४/०७५ मा गरेका कार्यको प्रगतिबारे जनता समक्ष राखिएको थियो । नगरको नेतृत्वले नगरभित्र बजेट विनियोजन तथा विकास निर्माण गतिविधिमा विभेदकारी नीति राखेको समेत केही वडाध्यक्षले आरोप लगाए ।

वडामा कर्मचारीहरूको अभाव, विकास निर्माण कार्य पूरा गर्न नसकिएको, वडा कार्यालय सिफारिस दिने अड्डामात्रको रूपमा परिचित रहेको, प्रविधिको अभाव नदी कटान, फोहोर मैला व्यवस्थापन, सागुरो सडक लगायतका समस्या देखाएका थिए । साथै वडा कार्यालय योजना छनौटमा पनि विभेदको शिकार हुनु पर्दा जनताका चाहनाअनुसार काम अगाडि बढाउन नसकिएको वडाध्यक्षहरूले मुख खोलेका थिए । ४ नम्बर वडाध्यक्ष हङ्शधर राजवंशीले आफ्नो वडामा बजेट पठाउँदा नगर प्रशासनले विभेद गरेकोमा आक्रोस पोखे । नगरमा सन्तुलित विकास गर्ने नीति नगर प्रशासनकै कारण असफल हुने प्रष्ट भएको वडाध्यक्ष राजवंशीको दुखेसो थियो । विनिययोजन गरेको बजेट अवैज्ञानिक भएकोले असन्तुष्ट भएको विषयलाई लिएर नगरपालिकामा दुई पटक ध्यानाकर्षण पत्र पठाए पनि कार्यपालिकाको बैठकमा विषय समेत प्रवेश नपाएकोमा गुनासो गरेका थिए ।

समृद्ध भद्रपुरको नक्सा पहिलो आर्थिक वर्षे कार्यकालमा कोर्न नसकेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । पहिलो वर्ष सोचेअनुसार काम नभएको स्वीकार गर्दै सहभागी जनप्रतिनिधिलाई आगामी वर्ष देखिने गरी जनपक्षीय काम गर्ने आश्वासन दिए । उनले विभेदकारी नीति नरहेको भन्दै आफ्ना कमजोरीको बचाउ गरेको सहभागी वडाध्यक्षहरूले बताए । नगरमा रहेका विकास हेर्ने विषयगत कार्यालयहरूले वर्षभरी कागजी उपलब्धि मात्र बनाएको अधिकांस वडाका जनप्रतिनिधिको भनाइ छ । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा दशजना वडा अध्यक्षहरूले आ–आफ्नो वडाबारेमा प्रगतिसहितको समीक्षा प्रस्तुत गरेका थिए । राजन न्यौपानेको सञ्चालन तथा कार्यकारी अधिकृत तुलसीबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा राजनीतिक दलको तर्फबाट असारू राजवंशी, उपमेयर चन्द्रमाया श्रेष्ठलगायतले बोलेका थिए ।