विराटनगर/ विराटनगर जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका तीन बन्दीको बिहीबार उच्च अदालतमा भएको थुनछेक बहसपछि जिल्लाकै आदेशलाई सदर गरेको छ ।
३८ क्विण्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारले दिएको थुनछेक बहसमा उच्च अदालतले पनि जिल्लाकै आदेशलाई सदर गरेको हो । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोबस्तको १७ नम्बर गरेका थिए ।
जसमा बुधबार उच्च अदालतमा दुई वटा इजलासमा छुट्टाछुटै बहस भएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलासले लामा र तोलाङे उपर जिल्लाको आदेशलाई नै सदर गरेको छ । त्यस्तै २ नम्बर इजलासमा न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले राजन कुमारको हकमा पनि जिल्लाको आदेशलाई नै सदर गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयणप्रसाद रेग्मीले जानकारी दिए । १ नम्बर इजलासमा भएको बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सह–न्यायाधीवक्ता पदमप्रसाद वस्तीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारायण चौधरी र उद्धवप्रसाद घिमिरेले गरे । त्यस्तै २ नम्बर इजलासमा भएको बहसमा वादीकोतर्फबाट जिल्ला सह–न्यायाधीवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले गरेका थिए ।
तत्कालको प्रमाणबाट जिल्ला अदालतले थुनामा राख्न गरिएको जेठ ८ गतेको आदेश सदर गरिएको रजिष्ट्रार रेग्मीले बताए । उनीहरुलाई अदालतले सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ क बमोजिम जिल्लाको आदेश सदर गरेको उच्च अदालतले गरेको आदेशमा उल्लेख छ । यस प्रकरणको मुद्दामा तीनवटा इजलासमा बहस हुने भएपछि ३ नम्बर इजलासमा पेशी चढेन । तीन नम्बर इजलासका न्यायाधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेको आदेशले पाँचजना बन्दीको कैफियत प्रतिवेदन अलग–अलग इजलासमा पेशी चढाउन आदेश दिएका छन् । जसमा चारजना प्रहरी अधिकारी छन् भने एकजना सुन व्यवसायी हुन् । झुम्का कारागारमा पुर्पक्षको लागि थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र व्यापारी हेमन्त गौतमको कैफियत प्रतिवेदन अलग–अलग इजलासमा पेशी चढाउन आदेश दिएको रजिष्ट्रार रेग्मीले बताए । उनले आगामी बिहीबार यस मुद्दामा पुनः पेशी चढ्ने बताए ।
यस मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला चित्त नबुझेपछि सादा तारिकमा छोड्न माग राख्दै उच्च अदालतमा १७ नम्बर गरेका थिए । १७ नम्बर गर्नेमा थुनामा रहेका निलम्बन डिआइजी श्याम खत्रीदेखि उच्च ओहदामा रहेका प्रहरीसमेत छन् । उनीहरुले विभिन्न मितिमा १७ नम्बर गरेपछि मोरङ अदालतको कैफियत प्रतिवेदनअनुसार पेशी चढेको रेग्मीले जानकारी दिए ।