बिहान बिहानै स्कुल जान नमानेर आमाबुबाको गाली र पिटाइ भेटिरहेका बालबालिकाको क्रन्दन सुन्न पाइन्छ हाम्रो घरछिमेकमा । कोही बालबालिका स्कुल जान पर्ला भनेर लुकिरहेका त कोही आँगनमै बाँधिएका पनि भेटिन्छन् । अनेक किसिमले आमाबुबालाई पिर्दै सके स्कुल जान नपरोस् भन्ने मानसिकता भएका धेरै बालबालिकाका आ–आफ्नै कथा छन् र छन् उनका अभिभावकका आफ्नै व्यथा । जाने बुझेका र बुझाउने समय भएकाले त स्कुल जानपर्छ भनेर बुझाउँछन् नत्र त पिटाइबाहेक केही भेट्दैनन् दिनैपिच्छे बालबालिकाल् । किन त्यस्तो हुन्छ त भन्ने विषयमा सर्वप्रथम हामीले उनीहरूको मनोविज्ञान बुझ्नु जरुरी छ । उनीहरूका कुरा सुन्ने, उनीहरूको सङ्गत गर्ने र उनीहरूसँग सामीप्यता बढाउनाले नै उनीहरूको मनोविज्ञान बुझ्न सहज बनाउँछ ।
अहिलेका अभिभावक आफ्नो बच्चाले केही बदमासी गर्यो भने शिक्षकलाई भनिदिन्छु भन्ने खालको डर देखाइदिन्छन् । यसले बालबालिकामा शिक्षक र विद्यालयप्रति नकारात्मक भावना जगाउँछ । यस्तोमा उनीहरू विद्यालय जान मान्दैनन् ।
बच्चाको बहाना गर्ने पनि आ–आफ्नै शैली हुन्छ । प्लेग्रुपदेखि कक्षा १ सम्मका नानीहरूले रोएरै विद्यालय जान प्रतिकार गर्छन् भने ६–७ वर्षका बच्चाले विद्यालय जाँदिनँ भनेर सिधै प्रतिकार गर्छन् । ७ देखि ११–१२ वर्षसम्मका बालकबालिका भने स्वास्थ्य समस्याको बहाना गर्छन् । त्यस्तै १२ वर्षमाथिका बालबालिकाले भने अभिभावकलाई नै मूर्ख बनाउने कोशिस गर्छन् । कसैले आज स्कुलमा पढाइ हुँदै, टिचर आउनुभएको छैन, कार्यक्रम छ नगए पनि हुन्छ भन्ने गर्छन् । स–साना बालबालिका विद्यालय जान मन नलागेको रोएर व्यक्त गर्दछन् । कोही बच्चा स्कुल जान नमानी रुनु भनेको उसले आफूभित्र भएको तनाव र असन्तुष्टिलाई व्यक्त गर्नु हो । उनीहरू विद्यालय जान नमान्ने विभिन्न कारण हुन्छन् । जुन पढाइसँग मात्रै जोडिएको हुँदैन । साथीभाइ र शिक्षकले ऊसँग गर्ने व्यवहार, विद्यालयको वातावरण र कहिलेकाहीँ भने आमाबुबा छाड्न नसकेर पनि स्कुल जान मान्दैनन् ।
एउटा बच्चा के कारणले विद्यालय जान मान्दैन भनेर मनोवैज्ञानिक रूपले किटान गरेर भन्न सकिँदैन । यसका लागि अनुसन्धान नै गर्नुपर्छ । किनभने सबै केटाकेटी फरक–फरक खालका हुन्छन् । उनीहरूका समस्या पनि फरकै हुन्छन् । कोही अभिभावक व्यस्तताका कारण बच्चालाई स्कुलमा ढिला लिन जान्छन् । बच्चाको २ बजे छुट्टी हुन्छ भने ४ बजे मात्रै विद्यालय पुग्छन् । यस्तो अवस्थामा पनि उनीहरू विद्यालय जान मान्दैनन् । सबै साथी घर गइसकेपछि आफू एक्लै बस्नुपर्ने बाध्यताले पनि उनीहरूलाई स्कुलप्रति वितृष्णा जगाउँछ ।
प्रायः बालबालिका स्कुल नजान विभिन्न खालका बहाना बनाउँछन् । अभिभावकलाई सजिलै झुक्याउन सकिने बहाना उनीहरू उपयुक्त मान्छन् । जस्तैः टाउको दुख्यो, पेट दुख्यो, बान्ता आउन लाग्यो भनी बहाना गर्छन् । होमवर्क पूरा भएको छैन भने पनि कतिपय बालबालिकाले यस्ताखालका बहाना बनाउने गर्छन् । पढाइको प्रेसरले पनि बालबालिकालाई विद्यालय जान मन लाग्दैन । त्यस्तो बेला उनीहरू घर बस्दा नै आफू सुरक्षित भएको महसुस गर्छन् । बच्चालाई स्कुल जान जबर्जस्ती गर्नुहुँदैन । त्यसो गर्दा उनीहरूको सिकाइ सम्भव हुँदैन । त्यसैले सकभर अभिभावकले आफ्ना नानीलाई खुसी–खुसी नै स्कुल पठाउने कोशिस गर्नुपर्छ । ६ वर्षमुनिका बच्चालाई उनीहरू पढ्ने कक्षाको भित्तामा अभिभावकको फोटो राखिदियो भने उसले आफ्ना अभिभावक साथमै भएको भान गराउँछ । त्यस्तै शिक्षकले पनि उसको मन र मस्तिष्कले सहजै स्वीकार गर्ने खालका क्रियाकलाप गर्नु र गराउनु पर्छ ।
अभिभावकले विद्यालयको छनोट गर्दा निकै सावधानी अपनाउनुपर्छ । बालमैत्री शैक्षिक सुरक्षित वातावरण भएको विद्यालय रोज्नुपर्छ । प्रोफेसनल शिक्षक भएको विद्यालयमा आफ्ना सन्तानले सिक्न सक्ने भएकाले त्यतातिर पनि ध्यान दिन जरुरी छ । भवन मात्रै हेरेर हँुदैन । बालबालिकालाई साथीहरूका अगाडि अपमानजनक व्यवहार गर्नु हुँदैन । शिक्षक र साथीहरूका अघि सधैँ प्रशंसा गर्नुपर्छ । यो व्यवहारबाट उनीहरूलाई स्कुल जान मन हुन्छ ।
आफ्ना साथी, शिक्षक र आफू पढ्ने विद्यालय राम्रो छ भनेको सुनेर पनि तिनीप्रति आकर्षित हुन्छन् केटाकेटी । भुलेर पनि आफ्ना सन्तानका सामु अभिभावकले ती विषयको नकारात्मक टीकाटिप्पणी गर्नुहुँदैन । नानी पुर्याउन जाँदा शिक्षकसँग मिजासिलो भएर प्रस्तुत भए बालबालिकामा सकारात्मक प्रभाव पर्छ । यसले पनि उनीहरूलाई स्कुल जान मनाइरहन पर्दैन । यसरी विद्यालय, शिक्षक, साथीहरूप्रतिको उसको आस्था बनाइरहनुपर्छ । समय–समयमा स्कुल गएर शिक्षक वा प्रिन्सिपलसँग भेटेर आफ्नो सन्तानका बारेमा जानकारी लिइरहँदा पनि बच्चाले आफूलाई सुरक्षित महसुस गर्नुका साथै शिक्षकका राम्रा पृष्ठपोषणले उसलाई थप उत्साहित बनाउँछ । राम्रा काम र नतिजाका लागि स्याबासी दिने र गल्ती गरेको बेला सम्झाउने कुरा भुल्नुहुँदैन । केटाकेटी विद्यालयका लागि ढिलो भए भने पनि जान मान्दैनन् । त्यसैले समय व्यवस्थापनमा पनि उनीहरूलाई सहयोग गर्नुपर्छ ।