पाँचथर । वर्षा सँगै गएको पहिरोका कारण जिल्लाको याङवरक गाउँपालिका–२, स्थित बुद्ध माविको भवन जोखिममा परेको छ । पहिरोले वर्षदिन अघि मात्र निर्मित विद्यालयको तीन कोठे पक्कि भवन जोखिममा परेको विद्यालयका प्रधनाध्यापक टेकबहादुर मगरले जानकारी दिए । प्रधानाध्यापक मगरले भने– ‘पहिरो भवनभन्दा डेढ मिटर नजिक आइपुगेको छ, अलि ठूलो वर्षा भए भवनै बग्ने अवस्था छ ।’ भवन सँगै दुई वटा पक्कि चर्पी समेत पहिरोको जोखिममा परेका छन् ।

उक्त भवन तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गरिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा निर्मित भवन १९ लाख ५० हजार लागतमा बनेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीलाई पठानपाठन गराइदै आएको उक्त भवन पहिरोको जोखिममा परेपछि त्रासका बीच पठानपाठन गराउनु परेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक मगरले भने– ‘पानी पर्न थाल्यो भने पहिरो नजिकैको कक्षा–८, का विद्यार्थीलाई विद्यालयको स्टोर रुममा राखेर पढाउँनुपर्ने बाध्यता छ ।’ भवनछेउमै पहिरो गइरहेकाले अन्य समयमा पनि त्रासमा बस्नुपर्ने विद्यार्थीले गुनासो गरेका छन् ।

पहिरो रोकथामका लागि पर्खाल लगाउँन गाउँपालिका सँग विद्यालयले बजेट माग गरेको प्रधानाध्यापक मगरले बताए । गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङले भने गाउँपालिका र वडाले उक्त समस्या समाधानका लागि बजेटको व्यवस्था गरिसकेको बताएकि छिन् ।