रङ्गेली । ‘सानै छु पढ्न देऊ, बालविवाह हैन पढ्न देऊ’ भन्ने नारासहित भदौ १ बाट तीनदिन चलेको प्रदेश १ स्तरीय बालिका सम्मेलन आइतबार विराटनगर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । विराटनगरम भएको सम्मेलनमा बालबालिका सम्बन्धमा हुने विभिन्न समस्या र अधिकारका सम्बन्धमा छलफल भएको थियो । सरकारका हरेक तहसम्म उपयुक्त संयन्त्र निर्माण गर्न र संयन्त्रलाई सबल र सक्रिय बनाउन आवश्यक व्यवस्था मिलान तथा त्यसका लागि किशोर सञ्जाल, बालक्लब सञ्जाल र आमसञ्चार माध्यमको सहयोग र सहभागिताको व्यवस्था मिलाइनेछ । भदौ १ गतेलाई आगामी वर्षबाट बालविवाह विरुद्धको दिवसको रूपमा मनाउन पहल गरिनेछ । सन् २०२५ भित्र प्रदेश १ बालविवाह मुक्त प्रदेश घोषणा गर्नेलगायतका ११ बुँदे विराटनगर घोषणा–पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा जिल्ला समन्वय समिति तथा स्थानीय तहका उपप्रमुखहरु, महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ताहरु र प्रदेशका सबै जिल्ला र क्षेत्रका बालबालिकाको प्रतिनिधिमूलक सहभागिता रहेको सम्मेलनले निष्कर्षका रूपमा घोषणा–पत्र जारी गरेको जनाएको छ । हाम्रो समाजमा लैङ्गिक समानता कायम गर्न र बालिकाउपर हुने विभिन्न प्रकारका हिंसाको जोखिम कम गर्न किशोरहरुको अहम् भूमिका रहन्छ । लैङ्गिक समानाताका साथै बालिकालाई नेतृत्वमा पु¥याउन आवश्यक रहेको छ । त्यसका लागि अवसर र प्रोत्साहन प्रदान गरी सँगै अगाडि बढाउन किशोरको सहभागितामा लैङ्गिक समातना कार्यक्रम सञ्चालन गरिने घोषणा–पत्रमा उल्लेख छ । सम्मेलनबाट तयार पारिएको घोषणा–पत्र बालबालिकाले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेका थिए । तीन दिनसम्म चलेको सम्मेलनमा प्रदेशका १४ जिल्ला तथा अपाङ्गता भएका बालबालिका र अन्य सहभागी गरेर सम्मेलनमा १ सय ५० को उपस्थिति रहेको थियो ।