बिर्तामोड/ झापा बिर्तामोड स्थित महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउन एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता गरेका छन् । स्थानीय जनप्रतिनिधि, राजनीतिक, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

[caption id="attachment_84721" align="aligncenter" width="800"] सांकेतिक तस्विर[/caption]

माविलाई नमूना विद्यालय बनाउने सन्दर्भमा साढे नौ विगाह क्षेत्रफलमा त्यहाँ जग्गा भोगचलन गर्ने किसानलाई आन्तरिक सहमति बमोजिम उचित व्यवस्थापन गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।  छलफलमा बिर्तामोड नगर प्रमुख धु्रवकुमार शिवाकोटी, नेकपाका बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईं, नेपाली कांग्रेसका, लक्ष्मी आचार्य, विद्यालयका पूर्व अध्यक्ष, लोकबन्धु कन्दङ्वा, नेकपाका युवा नेता सीपी कडरिया, राप्रपाका शंकर रिजालले नमूना विद्यालयका लागि सबै राजनीतिक दलले निःस्वार्थ र निष्पक्ष ढंगले सहयोग गर्ने बताएका छन् ।  प्रति विगाह जोतभोग बराबर दुई कठ्ठा जग्गा ९९ वर्ष ‘लिज’ सम्झौतामा कृषकलाई दिइने छ ।  दर्जन बढी परिवारले सोही ठाउँमा घर बनाएर २०२८ सालदेखि उक्त जग्गा जोतभोग गरिरहेका छन् ।

हाल बिर्तामोड–३ बिर्ताबजारमा रहेको मावि नमूना विद्यालयको भौतिक संरचना निर्माणसँगै वडा नं. ४, ५ र ६ को साढे नौ बिघे क्षेत्रमा स्थानान्तरण हुने प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए । नमूना विद्यालय कार्यान्वयनका लागि नगरपालिकाको खातामा डेढ करोड रुपैयाँ आइसकेको उनले बताए । ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत एशियाली विकास बैंकको सहयोगमा शिक्षा विभाग मार्फत् भौतिक पूर्वाधारले परिपूर्ण आधुनिक प्रविधिसहितको गुणस्तरीय शिक्षालयको रुपमा माविलाई ‘नमूना विद्यालय’ बनाउने योजना अघि सारिएको हो ।  एक सय ३७ करोडको लागत स्टिमेट तयार भए पनि नमूना विद्यालयका लागि अधिकतम् १२ करोड रुपैयाँसम्म मात्र बजेट आउन सक्ने प्रधानाध्यापक लिम्बू बताए ।

सो विद्यालयको कूल २३ विगाह जग्गामध्ये बाँकी जग्गा समेत विभिन्न कृषकले उपभोग गरिरहेको हुँदा उक्त जग्गा व्यवस्थापनमा समेत यसअघि भएको सहमति सकारात्मक नजिरको रुपमा रहँदा उपयुक्त हुने बताइएको छ ।