[caption id="attachment_28008" align="alignleft" width="447"] सांकेतिक तस्विर[/caption]

पथरीशनिश्चरे/चालीस वर्ष नाघेका उम्मेदवारलाई ‘सेटिङ’ मिलाएर झापाको शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय धरमपुरमा शिक्षक नियुक्त गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उमेरको हद म्याद ४० वर्ष नाघेकी दमककी जीवनकुमारी सापकोटाको नियुक्ति बदरको माग गर्दै सापकोटाका प्रतिस्पर्धीहरु लेखनाथ सुवेदी, नइन्द्रप्रसाद आचार्य र दिनेश काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दिएका हुन् । उनीहरुले ५३ वर्षीया सापकोटाको नियुक्ति शिक्षा नियमावली २०२८ को नवौं संशोधन विपरीत भएको जिकिर गर्दै नियुक्ति खारेजीको माग गरेका छन् । सापकोटाको उम्मेदवारी र नियुक्ति कानूनसम्मत नभएको भन्दै खारेजीको निवेदन विद्यालयमा दिँदा प्रधानाध्यापक खगेन्द्रबहादुर दहालले दर्ता गर्न मानेनन् । दर्ता नगर्ने कारण खुलाएर निवेदनमा दरपिठ पनि गरेनन् ।

सो विषयमा सुनुवाइ नभएपछि आफूहरुले अख्यियारमा भदौ ४ गते उजुरी दिनुपरेको उजुरीकर्तामध्येका लेखनाथको भनाइ छ । उनीहरुले अख्तियारका साथै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, शिवसताक्षी नगरपालिका शिक्षा शाखामासमेत उजुरी गरेका छन् । विद्यालयले ०७५ साउन २० गते माध्यमिक तहका लागि नेपाली विषय शिक्षकको करार सेवासम्बन्धी विज्ञापन खुलाइएको थियो । ६ जनाको आवेदन आएकोमा गत सोमबार भएको परीक्षाबाट विगत ५ वर्षदेखि सो विद्यालयमा निजी स्रोतमा काम गरिरहेकी नेकपानिकट सापकोटालाई छानिएको थियो ।

अस्थायी दरबन्दी बिनाका उम्मेदवारले त्यस्तो पदको खुल्ला विज्ञापनमा दरखास्त दिनै नपाउने उल्लेख छ । विद्यालयका प्रधानाध्यापक दाहाल, विद्यालय व्यवस्थान समितिका अध्यक्ष वेनु अधिकारी, दुधे स्रोतकेन्द्रसहितले सापकोटा बाहेकका आवेदकको निवेदन लिनसमेत नमानिरहेको परीक्षार्थीमध्येका नइन्द्रप्रसाद आचार्यले खुलाए । उनले भने, ‘विद्यालय व्यवस्थापन समितिका एक सदस्यले हामीले काम गरिरहेको मानिसलाई व्यवस्थापन गर्न विज्ञापन खुलाएको हो, तपाईहरुले दुःख मात्र पाउनु हुन्छ भनेर निवेदन दर्ता गर्न नमान्दा नमान्दै दर्ता गराएँ ।’ पछि प्रअ दहालले पनि आफूहरुले दरखास्त बापतको १ हजार ५ सय रकम विद्यालयका लागि सहयोग भएको भन्दै फोनमा जानकारी गराएको उनले सुनाए ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापाका इकाई प्रमुख योगेन्द्रप्रसाद बरालले त्यस विषयमा आफूहरुले पनि बुझ्ने जनाए । तर उनले निवेदन दर्ता नगरेर प्रअ दाहालबाट कमजोरी हुन पुगेको उल्लेख गरे । उनले भने, ‘निवेदन जस्तोसुकै प्रकृतिको भए पनि दर्ता गर्नुपर्ने हो ।’ प्रअ दाहालले भने सामुदायिक उमावि शिक्षक व्यवस्थापन निर्देशिका २०७१ को परिच्छेद ३ को उपनियम ३३ अनुसार मापदण्ड पूरा गरेकाले सापकोटाको दरखास्त खारेज गर्नु नपर्ने जिकिर गरे । उच्चमाविमा कार्यरतका लागि उमेरको हदबन्दी लाग्दैन भनेर जिल्लाले पनि भनेको र नगरपालिकाले पनि त्यसमा सहमति जनाएको उनको भनाइ छ । तर, शिक्षाविद्का अनुसार उच्चमाध्यमिक शिक्षा खारेज भएकाले यो नियम मौजुदा नियमसँग बाझिएको धारणा छ । नगरपालिकाले पनि त्यसखाले निर्णयको तयारी गराएर आस्थाका आधारमा नियुक्ति गरी कानूनी प्रक्रिया उल्लङ्घन गरेको टिप्पणी छ ।