भद्रपुर/ आउदै गरेको चाड–पर्वलाइ मध्यनजर गरी कारोबारीले झापाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली अवैध सामग्री नेपाल तर्फ तस्करी हुनथालेपछि नेपाल प्रहरीले चासो देखाएको छ । झापाको भद्रपुर स्थित नेपाल बैङ्क छेउ, जनता चोक, भद्रपुर नगरपालिका पूर्व देवीवस्ती , श्मशान घाट, गणेश मन्दीर , नरसिंह चिया बगान, गौरीगञ्ज,कचनकवल ,बुद्धशान्ती , मेचीनगर, काकँडभिट्टा लगायतका क्षेत्रबाट सुर्ती ,कपडा, पित्तलका सामान,मोटर पार्टस लगायतका वस्तु कारोबारीले भन्सार छलेर नेपाल भित्र्याउन थालेपछि प्रहरी सक्रिय भएको हो । त्यस्ता क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा नभई छिटपुट सामान बरामद गर्दै आएको छ ।  भारतबाट अवैधबाटो प्रयोग गरी बिभिन्न स्थानबाट नेपाल भित्रइएको १ लाख ४७ हजार मूल्य बरावरको अवैध सामग्रीसहित प्रहरीले एकजना कारोबारीलाइ मोटर साइकलसहित आइतबार पक्राउ गरेपछि झापामा तस्करी हुदै गरेको पुष्टि भएको छ ।

जिल्ला प्रहरीले दिएको जानकारी अनुसार गौरादह नगरपालिका ७ ग्वालडूब्बाबाट को २ प ७४६६ नम्बरको मोटरसाइकल प्रयोग गरी ल्याउदै गरेको ५ हजार मूल्य बराबरको एक बोरा सुर्ती प्रहरीले बरामद गरेको जनाएको छ । कारोबारमा संलग्न गौरीगञ्ज गाउँपालिका २ कोरोबारीका २५ वर्षिय मुना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरीएको मोटरसाइकलको २५ हजार मूल्याङ्कन गरीएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले मेचीनगर ६ बाट सट,स्वीटर गरी २८ हजार ,२० हजार मूल्य बरावरको भान्सामा प्रयोग हुने सामग्री र ५७ हजार मूल्य बरावरको कपडा बरामद गरिएको डिएसपी तथा प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । प्रहरीले कचनकवल गाउँपालिका– ५को सीमा क्षेत्रबाट १२ हजार मूल्यको फलाम छेड्ने मेसीन समेत बरामद गरेको डिएसपी बस्नेतले जानकारी दिए ।

त्यस्तै झापाको उत्तरी क्षेत्र बुद्धशान्ती गाउँपालिका–१ होक्से पानीटयाङ्की छेउबाट ट्याक्टरमा लोड गरीएको काठ प्रहरीले बरामद गरेको छ । आइतबार बेलुका साढे ४ बजे मे १ त ८६५ नम्बरको ट्याक्टरमा राखिएको ६ थान सखुवाको गोलिया र ४० थान बाकल रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको काठसहित ट्याक्टरलाइ आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय झापा पठाइएको बस्नेतले जानकारी दिए । प्रहरीले बरामद गरेको ६ दशमलव २९ क्यूबिक र ४० थान बाकल रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । चालक फेला नपरेकोले काठको पहिचान हुननसकेको वनका सुरक्षाकर्मी रामनाथ यादवले बताए ।