इलाम/ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले मंगलबार इलामका लागि शसस्त्र प्रहरीकाे गण निर्माण गर्न जग्गाको निरीक्षण गरेका छन् । इलाममा सशस्त्र प्रहरीको गण स्थापना गर्ने कुरा चलिरहेका बेला मन्त्री कार्कीले गण स्थापनाको सन्दर्भमै निरीक्षण गरेका हुन् । मन्त्री कार्कीले इलाम बरबोटेस्थित घलेटार सामुदायिक वनक्षेत्रको निरिक्षण गरेकोे जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सदरमुकाममा सशस्त्रको गण स्थापना सँगै नेपाल–भारत सीमा क्षेत्रमा पनि शसस्त्रको सुरक्षावीट राख्ने तयारी भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाका अनुसार सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न र सीमाको सुरक्षा गर्न पशुपतिनगर, छब्बीसे, मानेभञ्ज्याङ र सन्दकपरमा शसस्त्र प्रहरीको वीट राख्ने निश्चित भएको छ । मन्त्री कार्कीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं एकका सचिव गोपालप्रसाद पराजुली, प्रहरी नायब महानिरिक्षक केदार रिजाल र शसस्त्र प्रहरी बल एक नम्बर बाहीनीका शसस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठसहितको टोलीले गण बस्ने जग्गा र सीमा क्षेत्रको निरिक्षण गरेको हो ।
गण ‘एसपी’ को नेतृत्वमा बस्ने छ । मन्त्री कार्कीले मंगलबार नै सीमाक्षेत्र पशुपतिनगरको पनि निरिक्षण गरी स्थानीयसँग सीमा सुरक्षाका विषयमा छलफल गरेका छन् ।