पथरीशनिश्चरे । प्रतिनिधिसभाका उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले नयाँ ऐनले पत्रकारहरूमा व्यवसायजन्य समस्या सिर्जना गरेको भनेर उठान भएको विषयका बारे आफूले सरकारसमक्ष जानकारी गराउने बताएकी छन् ।

उपसभामुख तुम्बाहाम्फेले मङ्गलबार झापाको दमकमा आयोजित एक कार्यक्रममा आएको मौकामा आफ्नो गृहनगर मोरङको उर्लाबारीमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सो कुरा बताएकी हुन् । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतसहित क्लबमा आबद्ध उत्तरपूर्वी मोरङका पत्रकारहरुले नयाँ ऐनले पत्रकारितामा लगाएको अङ्कुशप्रति एकबद्ध रूपमा विरोधको कार्यक्रम भइरहेको जनाएका छन् । साथै पत्रकारहरूले मुलुकका हरेक पक्ष सङ्घीय बने पनि सञ्चारमाध्यम दर्ता, वर्गीकरण, समानुपातिक विज्ञापनसहितका गतिविधि एवम् पत्रकारहरूको नियामक निकाय केन्द्रीकृत नै रहेकोप्रति टिप्पणी गरेका थिए । मोफलसका पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रोत्साहनका कार्यक्रममा जोड दिँदै सङ्घीयताको मर्मअनुरुप स्थानीय निकायका विज्ञापन स्थानीय सञ्चारमाध्यममा प्रदान हुनुपर्ने मागसमेत उनीहरूले राखेका छन् । उपसभामुख तुम्बाहाम्फेले दमकस्थित मेची सहकारी संस्थाको २२ औं वार्षिकोत्सव तथा २४ औं साधारणसभालाई सम्बोधन गर्दै मुलुकमा सहकारी संस्थाले आर्थिक पाटोमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् । सो अवसरमा उनले मेची सहकारीका संस्थापक अध्यक्ष स्व.गणेशमान बस्नेत सहकारी अभियन्ता पुरस्कार सहकारी आन्दोलनका अगुवा केशव बडाललाई प्रदान गरिन् । यसैबीच स्व.गणेशमान बस्नेत पत्रकारिता पुरस्कार राससका विष्णु सुब्बा र मेची सहकारी पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका अर्जुन राजवंशी पुरस्कृत भएका छन् । यसका साथै मेची सहकारी उत्कृष्ट सञ्चार गृह पत्रकारिता पुरस्कार सवाल नेपाललाई प्रदान गरिएको छ । संस्थाले प्रत्येक वर्ष सहकारी एवम् आर्थिक क्षेत्रमा वर्षभरि उत्कृष्ट काम गर्ने सञ्चारमाध्यम र पत्रकारलाई समेत पुरस्कृत गर्र्दै आएको छ । कार्यक्रममा केशव बडाल, सांसद् अर्जुन राई, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेश पोखरेलसहितले बोलेका थिए ।