धरान । माउन्ट हर्मन एकेडेमीका विद्यार्थीले बुधबार सङ्गीतसँगै कविताको आश्वादन गराएका छन् । कवि भूपि शेरेचनदेखि धरानका स्रष्टाको कवितालाई सङ्गीतसँग फ्युजन गराए । एकेडेमीका विद्यार्थीले प्रकाशन गर्दै आएको किड्स टाइम्सको ८ औं वर्ष प्रवेशको अवसरमा ‘अब्रेला डे’ गर्दै साङ्गीतिक माहोलमा स्रष्टाका कविता सुनाए । केही स्रष्टा भने कार्यक्रममा समेत सहभागी थिए । धरानका स्रष्टा सुदीप पाख्रिन, राजेश विद्रोही, सन्तोष थेवे र राज माङ्लाकको कवितालाई विद्यार्थीहरूले सङ्गीतको साथमा प्रस्तुत गरे । कक्षा–९ का निश्चल राई, सागरिका राई, सुविन राई, इच्छा ठकुरी र कक्षा १० का सिसम श्रेष्ठ र सनम राईले कविता वाचन गर्दै उपस्थित अतिथिलाई मुग्ध पारे । यसै क्रममा प्रशान राई, मौसम राई, अभियान तामाङ र सुपिल उदासले गीत प्रस्तुत गरे । साथमा धरान सङ्गीत प्रतिष्ठानका कृष्णराजा श्रेष्ठले ‘दीप श्रेष्ठ’ को मेरी मायालु, र स्कुल प्रशासनका शिक्षक नवीन राईले उदय सोताङको गीत प्रस्तुत गरे । स्रष्टा तथा पत्रकार राजेश विद्रोहीले विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिले मुग्ध पारेको बताए । त्यस्तै रङ्गकर्मी तथा लेखक गोपाल देवानले अनुभूतिबाट साहित्य जन्मिने बताए । उनले अनुभव सबैसँग हुने तर, अनुभूति कमैले मात्र गर्न सक्ने भएकैले साहित्यकार कम हुने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा.डा. भीम खतिवडाले स्कुलले पठनसँगै साहित्यिक गतिविधि गरेर विद्यार्थीहरूमा साहित्यप्रति उत्प्रेरणा जगाउने उदाहरणीय कार्य गरेको बताए । उनले कला, साहित्य र सङ्गीत विनाको जीवन व्यर्थ हुने बताए ।