काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ । अवरुद्ध विमानस्थल अबको आधा घण्टामा पुनः सञ्चालनमा आउने विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अफिसर सीताराम भण्डारीले जानकारी दिए । विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

 

यति एयरलाइन्सको विमान चिप्लियो