भद्रपुर/झापाका मुख्य दुई नाका चेलीबेटी बेचबिखनले परिचित छन् । एक काँकडभिट्टा अर्को भद्रपुर । यी नाका भएर छिमेकी भारतसँगै तेस्रो मुलुकको गन्तव्यको रोजाइमा पर्ने गर्छन् ।  यस्ता आपराधिक क्रियाकलाप रोक्न प्रहरी युनिटदेखि सरकारी, गैरसरकारी निकाय तल्लीन छन् । तर, चेलीबेटी बेचिने क्रम रोकिएको छैन । सीमाक्षेत्रमा घुम्ती राखेर त्यस्ता सङ्घ–संस्थाले कर्मचारीमार्फत् निगरानी बढाउन निर्देशन दिइन्छ । सादा पोसाकमा प्रहरी खटिएका हुन्छन् । तर मानव बेचबिखन रोक्ने जालो तोड्न सक्षम भएको पाइँदैन । विशेषगरी १८ देखि २४ वर्षसम्मका युवायुवती मानव बेचबिखनको उच्च जोखिममा रहेको तथ्याङ्क छ ।  जिल्ला प्रहरी, सानाहात, माइती नेपाल, विश्व सेवा विस्तार र सामी परियोजना झापामा परिचालित छन् । रोक्ने निकाय सक्रिय भए पनि बेचबिखन अन्त्य हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयको दुईवर्षको तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष ०७३/७४ भन्दा ०७४/७५ मा बेचबिखनको अवस्था वृद्धि भएको देखिन्छ । पहिलो वर्ष १० ओटा मुद्दा दर्ता भए भने दोस्रोमा २७ पुगेको छ । उद्धारमा १६ जना छन् । यस्ता घटनामा संलग्न भएका २३ मध्ये ९ जना अझै फरार रहेका छन् । दोस्रो आर्थिक वर्षमा ३० जना पक्राउ परे भने २० जना अझै पनि फरार रहेको जिल्लाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेत बताउँछन् । चालु आर्थिक वर्षमा भने १ वटा दर्ता भएको र पाँचजना पक्राउ परेको डिएसपी बस्नेतले बताए ।

त्यसैगरी सानाहात नेपालले भने २०७४ साउनदेखि ०७५ साउनसम्म ६४ जनालाई उद्धार गरेको छ । सङ्घ–संस्थाले ८ ओटा मुद्दा दर्ता गरी दुईओटा फैसला गरेको छ । त्यसैगरी १५ जनालाई कारबाही गरेको छ भने ७ जना दलाल फरार रहेको सानाहात नेपालका संयोजक जगत वाग्लेले बताए । जनचेतनामूलक कार्य गरिरहे पनि रोजगारी दिने आश देखाएर दलालीले फकाई फुलाई लैजाँदै गरेकोले बेचबिखनको घटना बढेको उनले जनाए । दैनिक रूपमा ग्रामीण भेगदेखि नेपालका विभिन्न स्थान हुँदै खाडी मुलुकसम्म पुर्याएर बेचिने गरेको उनले बताए । साथै यौनव्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखन भएको वाग्लेको भनाइ छ । यो एक सामाजिक अपराध भएको उनले जनाए ।  त्यस्तै माइती नेपालले आर्थिक वर्ष ०७४/७५ मा ३ सय ३२ जनाको उद्धार गरेको छ । हराएका १ सय ९० जनाको निवेदन परेकोमा ६० जना फेला पारेको प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । मानव बेचबिखन मुख्य रूपमा वैदेशिक रोजगार नै रहेको उनले बताए । वैदेशिक रोजगार भनेर लैजाने अनि पछि यौनहिंसामा लगाउने घटना बढी हुने गरेको उनको भनाइ छ । त्यसैगरी विश्व सेवा विस्तारले यो वर्ष १३ सय ७४ जनालाई परामर्श दिएको छ भने ५ सय ६२ जनाको उद्धार गरेको जनाएको छ । १२ ओटा मुद्दा परेकोमा ९ जना पक्राउ गरी अन्य फरार रहेको संस्थाकी प्रमुख एलिना खनालले जनाइन् ।

कसरी हुन्छ मानव बेचबिखन ? मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज, प्रपञ्च मिलाई जबरजस्ती, करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण, शरीर बन्धक राखी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ । भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता, बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरू बेच–बिखन हुने गरेका छन् । चेलीबेटी बेचबिखनको मुख्यकारण गरिबी, सामाजिक विभेद, अशिक्षा, अज्ञानता आदि हुन् । मानव बेचबिखनमा संलग्न विभिन्न व्यक्तिहरूको सञ्जाल नै रहेको छ । जोखिमपूर्ण अवस्थामा पीडितलाई संरक्षण दिँदै समुदायमा पुनस्र्थापना गर्न सहायता गर्ने र कानूनी उपचारको लागि पीडितलाई सहायता गरेको काम गर्दै आएका सङ्घ–संस्थाले जनाएका छन् । पीडितको पुनस्र्थापना हुन नसक्ने अवस्थामा केन्द्रमा पठाई सीपमूलक तालिम दिने वा अन्य सङ्घ–संस्थामा पुनस्र्थापना गर्ने गरेको पाइएको छ ।