रङ्गेली/प्रदेश सरकारले सात महिना पुग्न लाग्दा पनि प्रदेशको नाम र राजधानी टुङ्गो लाउन सकेको छैन ।
प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने अधिकार पाएको प्रदेश सभामामा प्रस्ताव ल्याउन अल्मल गरिएको भन्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आक्रोस पोखेको छ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले पटक–पटक झुट बोलेर जनता अल्मल्याएको आरोप लगाए । मङ्गलबार बसेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसद् कार्कीले भने, ‘मुख्यमन्त्रीले बार–बार साउनमा नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भन्दा हामी सबैले विश्वास ग¥यौं ।’ साउन सकिएर भदौ आधा भइसक्दा पनि ‘न नाम आयो, न ठाउँ आयो, न त कुनै सल्लाह भयो अब कहिलेसम्म आउँछ ?’ भन्दै उनले सरकारलाई प्रतिप्रश्न गरे । उनले कम्तिमा जनतासमक्ष झुट नबोल्न प्रदेश सरकारलाई आग्रह गरे । सङ्घीय सरकार झुटको पोको भन्ने जनताले बुझिसकेको भन्दै त्यो व्यवहार नदेखाउन प्रदेश १ को सरकारलाई सुझाव दिए । ‘वास्तविकता जे हो त्यही भन्दा जनताले बुझ्नेछन्’ उनले भने, ‘अहिले हामी सल्लाह गर्र्दैछौं, राजधानी र नामको टुङ्गो लगाउँछौं भने हामी त्यहीअनुसार जनतालाई बताउँछौं ।’
उनले ९ वटामा सिलबन्दी भएकोमा ७ वटा उद्योगको सिलबन्दी खोल्न ६० हजारका दरले मन्त्रालयले पैसा लिएको आरोप लगाए । पानीमा कोलिफर्म भेटियो भन्दै पत्रपत्रिकामा लेखाएर पैसा दिन बाध्य पारिएको उनको तर्क थियो । प्रदेश सरकारसँग रकम लिएको विषयमा छानविन गर्न उनले माग गरेका छन् । उनले तीनै तहमा दुईतिहाइ भएको सरकारले व्यवस्थित कर लागू गर्छ भन्ने आश गरेका जनता तेहोरो करको मारमा परेको बताए । सांसद् कार्कीले प्रदेश सरकारले दिएको बिदाले जनता नै मारमा परेको भन्दै समन्वय गरेर मात्र बिदा दिन सरकारलाई सुझाए ।