धनकुटा/ नेवाः देय दवूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले देशको समृद्धि भनेको भौतिक विकास नभएको बताएका छन् । झिगु समाज हिलेले आयोजना गरेको १ महिने धिमे बाजा एवम् लाखे नृत्यसम्बन्धी एक महिने प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा आयोजित कार्यक्रमलाई धनकुटाको हिलेमा आइतबार सम्बोधन गर्दै अध्यक्ष ताम्राकारलाई बताएका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष ताम्राकारले जाति समुदायको भाषा, संस्कार, संस्कृति र कलाको विकास मानव विकासको सूचकाङ्कमा कति हुन सक्यो त्यो चाहिँ समृद्धि हुने बताए । उनले भाषा, संस्कार र संस्कृति हराएर गयो भने गौरव गर्ने नेपालको अस्तित्व नै हराएर जाने ठोकुवा गरे । ताम्राकारले धिमे बाजा र नेवार संस्कृति बचाउनु भनेको नेवारी समुदायको राज्यसँगको उपस्थिति रहेको बताए ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेवारी समुदायको भाषा, संस्कार, संस्कृति अन्य समुदायको भन्दा धेरै सभ्य रहेको टिप्पणी गरे । उनले नेवारी समुदायबाट अन्य समुदायले धेरै सिक्नुपर्ने धारणा राखे । त्यसैगरी पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेवाः देय दबूका केन्द्रीय सल्लाहकार एवम् संस्कृतिविद् तीर्थमान डङ्गोलले धिमे बाजा गाउन र नाच्नको लागि मात्र नभएर नेवारी संस्कृति, सभ्यता, र साहित्य नयाँपुस्तालाई हस्तान्तरण गर्न सक्नु मुख्य विषय भएको बताए । डङ्गोलले नेवारले धिमे बाजा, लाखे नाच त्यसै बजाएको नभई समुदायको नेतृत्व लिनको लागि बजाएको पनि स्पष्ट पारे । उनले राजा सबैको साझा हुन नसक्दा देशबाट हराए, अब जनप्रतिनिधिहरूले सबैको साझा भएर पार्टीप्रतिको मोह र राजनीतिलाई त्यागेर काम गर्न अनुरोधसमेत गरे ।

झिगु समाज हिलेका अध्यक्ष दिजेश शाक्यको अध्यक्षतामा सम्पन्न धिमे बाजा तथा लाखे नृत्यसम्बन्धी १ महिने तालिम समापन समारोहमा उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष उमेश घिमिरे, झिगु समाज प्रदेश नं. १ का उप–संयोजक सीताराम श्रेष्ठ, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास समिति हिले धनकुटाका अध्यक्ष खगेन्द्र विष्टलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन झिगु समाज हिलेका सचिव सन्तोष श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य सदस्य विक्रम प्रधानले राखेका थिए । एक महिने तालिममा ३ महिलासहित १२ जना सहभागी रहेका थिए । तालिमको सहजीकरण काठमाडौंबाट आएका धिमे बाजा तथा लाखे नाचका प्रशिक्षक धनकृष्ण साधवाले गरेका थिए ।