मधुमल्ला/ मोरङको मिक्लाजुङमा सञ्चालित संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा अन्तर विद्यालय आधारभूत र माध्यमिक तहस्तरीय हाजिरी जवाफ तथा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन युनिट मिक्लाजुङको आयोजनामा सोमबार मिक्लाजुङ–७ रिलायन्स अङ्ग्रेजी मावि मधुमल्लामा सम्पन्न प्रतियोगितामा अधारभूततर्फ हिज्जे प्रतियोगितामा तोरीबारी विद्या मन्दिर मिक्लाजुङ–८ र हाजिरी जवाफ प्रतियोगितामा क्लासिकला हाइस्कुल मिक्लाजुङ–८ ले प्रथम स्थान हासिल गरे । त्यस्तै प्रतियोगितामा हाजिरी जवाफतर्फ भानु मेमोरियल अङ्ग्रेजी मावि मिक्लाजुङ–७, सरस्वती मावि मिक्लाजुङ–८ र मदर मधुमल्ला अङ्ग्रेजी मावि मिक्लाजुङ–९ ले क्रमश द्वितीय, तृतीय र शान्तवना स्थान हासिल गरे । त्यस्तै हिज्जे प्रतियोगितातर्फ रिलायन्स अङ्ग्रेजी मावि मिक्लाजुङ–७, नोबेल्टी अङ्ग्रेजी मावि मिक्लाजुङ–३ र जलेश्वरी अङ्ग्रेजी स्कुल मिक्लाजुङ–४ ले क्रमश द्वितीय, तृृतीय र सान्त्वना स्थान हासिल गरे । हिज्जे प्रतियोगिताको सञ्चालन राजु बस्नेत र हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक महावीर राईले गरेका थिए । कार्यक्रमा आधारभूततर्फ मिक्लाजुङका १३ र माध्यमिकतर्फ मिक्लाजुङका ५ विद्यालयको सहभागिता थियो । कार्यक्रममा विजेतालाई ट्रफी र प्रमाण–पत्र मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख काशिनाथ खनाल र कार्यक्रमकका अध्यक्ष नवराज दवाडीले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख खनालले यस प्रकारका कार्यक्रमले विद्यार्थीको सामान्य ज्ञान विकाससँगसँगै अतिरिक्त ज्ञानमा समेत टेवा पुग्ने बताए । कार्यक्रममा विशिष्ठ अतिथि वडा नं. ७ का वडाध्यक्ष सुशीलराज चौहान र स्रोत व्यक्ति गणेश रेग्मीको आतिथ्यता थियो । कार्यक्रम नवराज दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो ।